धनगढीः कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह–चालक अछामको चौरपाटी गाउँपालिका–१ का २५ वर्षीय ज्ञानु साउँदको बिहीवार मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यस्तै उता डोटीमा बदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।
बडिकेदार गाउँपालिका-१ धामीगाउँ बस्ने २७ वर्षीय नविन बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बुधवार बडेला घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरेपछि गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै उता डडेल्धुराको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ। गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका– १ दुनीका ५० वर्षीय लक्ष्मणराज जोशीको अरिङ्गालले टोक्दा मृत्यु भएको हो। जोशीलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाडाँको डडेल्धुरा अस्पताल पुगाइएको थियो। डडेलधुरा अस्पतालमा उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो।
धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीको अस्पताल पुगाइएको थियो। बरेलीको एक अस्पतालमा उपचारकै क्रममा बिहीवार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले बताए।