काठमाडौं: कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै अनिसा पराजुली त्यसतर्फ लागेकी छन्। नोभेम्बर १९ (आज) देखि नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगिताका लागि उनी सोमबार साँझ कम्बोडिया गएकी हुन्।
प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी छिन्। कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकोले बुद्धको थिम बनाएकी हुन्।
नेपालको नाम विश्वमा चिनाउने अवसर पाएको बताउँदै उनले आफूले सक्ने प्रयास गर्ने बताइन्। ‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ।
उनी नेपालको प्रतिनिधित्व गर्दै नेक्स्ट मोडल्स नेपालमार्फत कम्बोडिया गएकी हुन्। वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन्। अनिसा केही समयअगाडि काठमाडौंमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर अप विजेता समेत हुन्। ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी हुने अवसर प्राप्त गरेकी हुन्।