काठमाडौं: नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको तयारी थालिएको छ। प्रहरीमा जनपदतर्फ २० एसएसपीको दरबन्दी रिक्त छन्।
केही डीआईजीमा बढुवा भएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको हो। यसअघि एआईजी र डीआईजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको हो।
जसमा रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन्। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोड गरिरहेका छन्।
यीमध्ये पनि दुईपटकमा एसपी भएका झन्डै ५० जना मुख्य दाबेदार देखिएका छन्। ९ वर्षपहिले नै एसपीमा बढुवा भएका विमल बस्नेत यसपटक एसएसपी बन्ने लाइनमा छन्। हालका एसपीमा उनी सबैभन्दा वरिष्ठ हुन्। तर कारबाहीमा परेका कारण उनको बढुवा रोकिएको थियो।
यस्तै, २०५६ को टोलीका गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन्।
बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बन्ने सूचीमा छन्। यो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए। उनी अहिले पनि अघिल्लो वरीयतामै बढुवा हुने सम्भावना बढी छ।
यस्तै प्रकाश रानाभाट, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुन लागिरहेका छन्। रन्जु सिग्देल अहिले एसएसपीमा बढुवाका लागि एक्लो महिला प्रतिस्पर्धी हुन्।
यस अगाडि बढुवाको रेसमा रहेका एसपी कमल थापा भने अहिले अनुसन्धानमा तानिएकाले बढुवाको सम्भावना छैन। उनीमाथि भैँसेपाटीको हनी ट्र्याप प्रकरणमा अनुसन्धान भएको थियो। अहिले पनि उनीमाथि अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिएको छ।
यहीँ ब्याचका तर एसपी बढुवामा पछि परेका टोलीबाट पनि केही अधिकारीहरू एसएसपीमा बढुवा हुनेछन्। जसमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराई लगायत पनि प्रतिस्पर्धामा छन्।
त्यस्तै प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला, चक्रराज जोशी पनि एसएसपी बन्न लबिइङमा छन्।
बढुवाको गृहकार्य थालिएपछि अहिले बढुवाको लागि आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन्।
र, यो पनि: २० एसएसपीसहित ३२ एसपी र ७० डीएसपीमा कहिले हुँदैछ बढुवा ?