धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको अग्रता कायमै छ। अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता कायमै राखेको हो।
आज (आइतबार) राति देखि मतगणना कार्य सुरु भएकोमा काङ्ग्रेसका उम्मेदवारले अग्रता लिएका हुन्। हालसम्मको मतगणनामा कांग्रेसका प्रकाश बहादुर चन्दले ३ सय ६९ मत प्राप्त गरेका छन्। त्यस्तै उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका बहादुर चन्दले १ सय ७१ मत प्राप्त गरेका छन्। उनीहरु काका भतिजसमेत हुन्। जसमा नेपाली काङ्ग्रेसका उम्मेदवार एमाले उम्मेदवारका भतिज हुन्।
यस्तै त्यहाँ राप्रपाका उम्मेदवार सुशील कुमार भट्टले १ सय २७ मत र एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले ७७ मत पाउँदा रास्वपाका उम्मेदवार रामदत्त भट्टले ६२ मत पाएका छन्। यहाँ स्वतन्त्रसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
यसअघि २०७९ को चुनावमा यो वडामा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित भएका थिए। गत वर्ष मोटरसाइकल दुर्घटनामा उनको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो।