धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चितजस्तै भएको छ। अहिलेसम्मको मत परिणाम अनुसार झन्डै दोब्बरले अग्रता लिएका नेपाली काँग्रेसका उम्मेदवारको जित निश्चितजस्तै देखिन्छ।
झन्डै दोब्बर मतको अग्रता कायम राखेका उनी जितोन्मुख देखिन्छन्। आज (आइतबार) राति देखि मतगणना कार्य सुरु भएकोमा काङ्ग्रेसका उम्मेदवारले सुरुबाटै अग्रता लिएका थिए। अहिलेसम्म कांग्रेसका प्रकाश बहादुर चन्दले ७ सय ३३ मत प्राप्त गरेका छन्। त्यस्तै उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका बहादुर चन्दले ३ सय ४३ मत प्राप्त गरेका छन्। उनीहरु काका भतिजसमेत हुन्। जसमा नेपाली काङ्ग्रेसका उम्मेदवार एमाले उम्मेदवारका भतिज हुन्।
यस्तै त्यहाँ राप्रपाका उम्मेदवार सुशील कुमार भट्टले २ सय ६३ मत र एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले १ सय ४५ मत पाउँदा रास्वपाका उम्मेदवार रामदत्त भट्टले १ सय ३८ मत पाएका छन्। यहाँ स्वतन्त्रसहित १२ उम्मेदवार प्रतिस्पर्धामा थिए।
यसअघि २०७९ को चुनावमा यो वडामा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित भएका थिए। गत वर्ष मोटरसाइकल दुर्घटनामा उनको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो।