धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार सुरुदेखि नै अग्रता लिएका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन्।
आज (आइतबार) राति देखि मतगणना कार्य सुरु भएकोमा सोमबार बिहान सम्पन्न भएको छ। जसअनुसार जम्मा २ हजार ९ सय ९१ मत खसेकोमा काँग्रेसका प्रकाश बहादुर चन्दले १ हजार १ सय ७ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरे। उनीहरु काका भतिजसमेत हुन्। जसमा नेपाली काङ्ग्रेसका उम्मेदवार एमाले उम्मेदवारका भतिज हुन्।
यस्तै त्यहाँ राप्रपाका उम्मेदवार सुशील कुमार भट्टले ३ सय ६९ मत र एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २ सय २५ मत पाउँदा रास्वपाका उम्मेदवार रामदत्त भट्टले २ सय १८ मत पाएका छन्। यहाँ स्वतन्त्रसहित १२ उम्मेदवार प्रतिस्पर्धामा थिए।
यसअघि २०७९ को चुनावमा यो वडामा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित भएका थिए। गत वर्ष मोटरसाइकल दुर्घटनामा उनको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो।