धनगढी: सुदूरपश्चिममा पाँच पदका लागि भएको उपनिर्वाचनमा चारमा नेपाली काँग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन्। काँग्रेसले चार वटै वडा अध्यक्ष पदमा जित हासिल गर्दा एमालेले भने उपाध्यक्षमा चुनाव जितेको छ।
उपनिर्वाचन भएका पाँचमध्ये तीन पद (एक उपाध्यक्ष र दुई वडा अध्यक्ष) मा ०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको थियो। यस्तै नेकपा एमाले र माओवादी केन्द्रले भने एउटा÷एउटा वडा अध्यक्ष जितेका थिए।
बझाङको सुर्मा गाउँपालिका– ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। ०७९ सालको स्थानीय निर्वाचनमा एमाले उम्मेदवार सर्जन बोहरा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।
०८० जेठमा वडाध्यक्ष बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुँदा त्यहाँ नेपाली काँग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन्। पुजाराले ६ सय ५७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेका छन्।
दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा नेपाली काँग्रेस विजयी भएको छ। ०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका मनोरथ भट्ट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए।
उनको २०८० असारमा मृत्यु भएपछि उपनिर्वाचन हुँदा नेपाली कांग्रेसका धनसिंह कुँवर वडाध्यक्षमा विजयी भएका छन्। उनी ३७६ मत प्राप्त गरी विजय हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन्।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन्। थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन्।
०७९ सालको निर्वाचनमा पनि त्यहाँ नेपाली काँग्रेस नै विजयी भएको थियो। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
उता कञ्चनपुरमा पनि नेपाली काँग्रेसले विरासत जोगाएको छ। भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन्। चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले चार सय ८७ मत पाएका छन्।
२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो। वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचनमा भएको हो।
उपाध्यक्षमा एमालेको पुनरागमन
सुदूरपश्चिममा भएको उपचुनावमा काँग्रेसले चार वटै वडा अध्यक्ष पदमा जित हासिल गर्दा एमालेले भने उपाध्यक्षमा चुनाव जितेको छ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा ०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार मैना जोशी निर्वाचित भएकी थिइन्। जोशीले एक हजार ८१० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारी बुढाले एक हजार ६३७ पाएकी थिइन्।
जोशीको निधनपछि भएको उपनिर्वाचनमा जित निकाल्दै एमालले आफ्नो विरासत फिर्ता गरेको छ। ०७९ सालमा चुनाव हारेकी बुढाले यसपटक उपनिर्वाचनमा जित हात पारेकी छन्। उनी एक हजार ७४० मतसहित निर्वाचित भएकी हुन्। कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले एक हजार ४७४ मत पाइन्।
०७४ सालको निर्वाचनमा त्यहाँ एमालेले जितेको थियो। त्यहाँ ०४९ र ०५४ मा पनि एमालेले नै जितेको थियो।