काठमाडौं: अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या गरेको र शव लुकाएको आरोप लागेका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ। प्रिन्स विलियम काउन्टी सर्किट कोर्टका एक न्यायाधीशले ३७ वर्षीय भट्टको सुनवाइ सन् २०२५ को सेप्टेम्बर ८ का लागि तय गरेका हुन् ।
शव लुकाएको अभियोगमा भट्टको सुनवाइ आगामी हप्तादेखि हुँदै थियो। तर सोमबार उनीमाथि पत्नीको हत्या गरेको नयाँ अभियोग चलाइएको छ।
यो सुनवाइको फैसला आउन करिब चार हप्ता लाग्ने बताइएको छ। कोर्ट टिभीले यो सुनवाइ टिभीमा प्रत्यक्ष प्रसारण गर्न खोजिरहेको छ। तर यसको निर्णय निर्णायकले गर्नेछन्।
मेरिकामा रजिस्टर्ड नर्स काफ्लेकी एक छोरी छिन्। छोरीलाई सुरुमा सोसल सर्भिसका स्वयंसेवकले लगेको भए पनि अहिले उनी ममताको आफन्तसँग छिन्। प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन्। लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए।
अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेका थिए। सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए। प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो।
त्यसयता नरेश प्रहरी हिरासतमा छन्। लामो अनुसन्धानपछि ममताको हत्या गरेर नरेश आफैले उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो। भट्टले छिमेकको आसपासका क्षेत्रमा फोहोरका ठुला झोला फ्याकेको सर्भेलेन्स क्यामराहरूमा देखिएको थियो।
अन्य फुटेजमा उनले चक्कु र सफा गर्न प्रयोग गरिने सामान किनेको पनि देखिएको थियो। एउटा दान साइटमा भट्टले रगत लागेको बाथरुमको बाथम्याट दिएको पनि भेटियो।
भट्ट दम्पतीको घरमा शयन कक्षमा रगतको छिटा पाइएको थियो । दृश्य हेर्दा कसैलाई जमिनमा घिसारेको जस्तो देखिन्थ्यो। घटना लगत्तै भट्टले आफ्नो टेस्ला कार बेचेका थिए भने घर पनि बेच्ने प्रयासमा थिए।
को हुन् नरेश भट्ट ?
सुदूरपश्चिम कञ्चनपुरको बेल्डाडीका नरेश भट्ट मेडिकल रिप्रेजेन्टिटिभ (एमआर) को काम गर्थे। सोहीक्रममा २०६९ सालमा धनगढीमा सेती प्रादेशिक अस्पताल अगाडि हरी गौतमसंग मिलेर नमूना मेडिकल हल सञ्चालनमा ल्याए। २०७० सालमा हरी गौतम डिभी परेर अमेरिका गए। त्यतिबेलासम्म स्वर्गदारी र नमूना मेडिकल हल छुट्टाछुट्टै सञ्चालनमा थिए। तर दुईटै पसलको ल्याव एउटै थियो।
गौतम अमेरिका गएपछि नरेशले त्यसपछि टेक बहादुर साउँद र सुरेश पुरी मिलेर संयुक्त रुपमा जनता स्वर्गद्धारी क्लिनिक सञ्चालन गरे। त्यसैबीच उनलाई सात लाख रुपैया घोटाला गरेको आरोप लाग्यो। र, उनले त्यो रकम तिरे। त्यसको एक वर्षपछि २०७२ मा डिभी परेर नरेश अमेरिका गए।
उनी अमेरिका पुगेपछि त्यहाँको सेनामा भर्ना भए। केही वर्ष अमेरिकी सेनामा रहेर काम गरे। तीन वर्षअघि काभ्रेकी ममता काफ्लेसंग बिबाह गरे। बिबाह गरेको केही समयपछि नै उनीहरुबीच खट्पट शुरु भएको बताईन्छ। त्यहीक्रममा नरेशले ममताको हत्या गरेको बताईएको छ। उनीहरुकी एक वर्षीया छोरी छन्।
र, यो पनि: सुदूरपश्चिमका भट्टमाथि अमेरिकामा पत्नी हत्याको अभियोग, यसरी मारेका थिए !