धनगढी: पहिले विदेशबाट नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी हुँदै आएकोमा अवस्था फेरिएको छ। पछिल्ला दिन भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको सीमा सुरक्षा अधिकारीहरू बताउँछन्।
नेपालमा भन्सार दर बढी र भारतमा कम हुँदा यस्तो स्थिति सिर्जना भएको हो। विगतमा उता सुन महँगो र नेपालमा सस्तो थियो भने अहिले उल्टो छ। प्रति १० ग्राम सुनको मूल्य भारतमा भन्दा नेपालमा १६ हजार रूपैयाँले बढी छ।
जसले गर्दा दिल्लीबाट काठमाडौं आउने विमानमा सुन फेला पर्न थालेको छ। यस्तै यता सुदूरपश्चिमको कैलालीबाट पनि स्थलमार्ग हुँदै सुन तस्करीमा हुन लागेको बताइएको छ। सोही आशङ्कामा प्रहरीले अनुसन्धान पनि थालेको छ।
यसैक्रममा सशस्त्र प्रहरीले कैललालीको भजनीबाट एक करोड रुपैयाँभन्दा धेरै मूल्यको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता डीआईजी कुमार न्यौपाने अनुसार भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट शनिबार साँझ उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका न्यौपानेले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट पगियापसारले उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेका छन्।
उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको न्यौपानले बताए । डीआईजी न्यौपानेका अनुसार पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी छ।