काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।
समारोहमा दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी छन्।
समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नति प्राप्त प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले पदोन्नतिसँगै जिम्मेवारी र जवाफदेहीता थपिएको महसुस गर्दै कार्यसम्पादनमा निखरता र तल्लीनता देखाउन निर्देशन दिए।
आईजीपी कुँवरले संगठनको सुदृढिकरण र सुधारका लागि सबैले व्यावसायिकता, इमानदारीता, निष्ठा, र धैर्यता कायम राख्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए।
समारोहमा प्रहरी विभागका उच्च अधिकारीहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यसैक्रममा शुक्रबारको मन्त्रिपरिषद्को बढुवा भएका रबिन्द्र केसीलाई राजीनामा लागि दबाब दिन थालिएको कुरा छताछुल्ल गर्दै भ्रम फैलाइएको छ। केसी स्वयंले सो कुरा गलत भएको जनाएका छन्। अर्का एक डिआइजीलाई बढुवाका लागि केसीलाई राजीनामा दिन दबाब दिइएको भन्दै हल्ला फैलाइएको हो।
बढुवाकै बेला रिक्त दुई सिटमा तीन जना प्रतिस्पर्धामा थिए। कुबेर कडायत, रबिन्द्र केसी र जनक भट्टराई बढुवाका दाबेदार थिए। पछि कडायत र केसीको बढुवा गरिएको थियो।