धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको रहस्यमय मृत्यु प्रकरणमा फरार अभियुक्त भारतीय नागरिक फारुखलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरेर म्याद थप गर्दै अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार २०८१ मंसिर १३ गते सियाराम रानाको शव आफ्नै घरको शौचालयमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा शवको अवस्थाले लडेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको टाउकोमा गहिरो चोटपटक पाइएको थियो। थप अनुसन्धानका क्रममा सुत्ने कोठामा रगतका छिटाहरू, रगत लागेको ईट्टा, र दराजभित्र रगतले भिजेका कपडा फेला परेको थियो।
त्यसपछि घटनाको अनुसन्धानका क्रममा मृतककी श्रीमती जनक कुमारी रानाले ईट्टाले प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गरेकी थिइन्। तर अनुसन्धान गर्दै जाने क्रममा घटनाको प्रमुख योजनाकार भारतीय नागरिक फारुख रहेको र उनको सल्लाहमा हत्या गरिएको खुलेको छ। प्रहरीले जनक कुमारीलाई मिति २०८१ मंसिर ८ गते अदालतको आदेशमा थुनामा पठाएको छ।
फारुख भने फरार रहेका थिए। प्रहरीको निरन्तर खोजतलासपछि उनलाई भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर क्षेत्रबाट पक्राउ गरी मिति २०८१ पुस २८ गते बेलौरी ल्याइएको हो।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा फारुखले मृतक सियाराम रानाको जीवन बीमा र सम्पत्तिमा दाबी गर्ने उद्देश्यले श्रीमती जनक कुमारीसँग मिलेर हत्या योजना बनाएको स्वीकार गरेका छन्।
त्यसपछि अदालतको आदेशमा फारुखलाई थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको छ।
र, यो पनि: कञ्चनपुरमा बिहान पति-पत्नीको झगडा, सुतेको बेला इट्टा हानेर हत्या