काठमाडौं: नेपाल प्रहरीका दुई एसपीमाथि गम्भीर प्रकृतिका आरोप लागे पनि कारबाही प्रक्रिया अगाडि नबढ्दा न्यायप्रतिको विश्वासमा धक्का लागेको छ। एसपी कमल थापा र नवराज कार्कीमाथि लागेका आरोपमा अनुसन्धान भए पनि कारबाही प्रक्रिया थाल्न प्रहरी प्रशासन असफल देखिएको छ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा एक व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै ३० लाख रुपैयाँ असुलिएको घटनामा एसपी थापाको संलग्नता देखिएको थियो। उनी ताज इस्लाम नेतृत्वको हनी ट्रयापिङ गिरोहसँग निकट रहेको र घटनाको दिन इस्लामसँग आधा घण्टा गोप्य भेटघाट गरेको प्रहरी छानबिनले देखाएको थियो।
थापाले भैंसेपाटी प्रभागकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई चिनजान गराएर पैसा असुल्न सहयोग गरेका थिए। शाहीलाई निलम्बन गरी ५ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको भए पनि उनले ताज इस्लामको मोबाइल गायब पारेको आरोप छ। मोबाइलमा थापा र इस्लामबीचको गोप्य कुराकानीका प्रमाण रहेको आशंका गरिएको छ। उसो त अस्ति उनी यसैकारण एसएसपी बढुवामा पनि छुटे। त्यस अगाडि सिआईबीलाई थापामाथि थप अनुसन्धान गर्न भनिएको थियो। सरकारी वकिल कार्यालयले थापाको बयान लिन निर्देशन दिएको भए पनि हालसम्म कुनै प्रगति भएको छैन।
उनी सुदूरपश्चिमको कंचनपुरमा हुँदै गर्दा विवादमा तानिएका थिए। त्यसपछि अख्तियारमा दरबन्दी भएका बेला उनी सो प्रकरणमा जोडिएर हेडक्वाटरमा थन्किएका छन्। उनीमाथिको कारबाही प्रक्रिया अनुसन्धानको अभावमा अलपत्रजस्तै छ।
त्यस्तै एसपी नवराज कार्कीमाथि क्रिप्टोकरेन्सी र अनलाइन जुवा खेलाउने गिरोहसँग साँठगाँठ रहेको र २५ लाख रुपैयाँ घुस लिएको प्रकरण पनि सेलाएको छ। मोरङ प्रहरी प्रमुखका रूपमा रहँदा इन्स्पेक्टर विक्रमबहादुर भट्टराईमार्फत उनले घुस लिएको तथ्य फेला परेको थियो।
घटनाको छानबिनका लागि एसएसपी भीमप्रसाद दाहालको नेतृत्वमा समिति बनेर प्रतिवेदन बुझाए पनि कारबाही प्रक्रिया अलपत्र परेको छ। घुस लिएको पैसा पछि फिर्ता गरेर पीडितलाई चुप लगाइएको देखिन्छ। यस घटनामा संलग्न घुमुवा प्रहरीहरू हवल्दार राजकुमार श्रेष्ठ, खगेन्द्र राउत, र सहायक हवल्दार सरोज श्रेष्ठमाथि समेत कुनै कारबाही भएको छैन। जबकी मोरङबाट कार्की सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पठाइएका थिए। उनी अहिले सुदूरपश्चिममै कार्यरत छन्।
दुवै घटनामा गम्भीर आरोप लागेका एसपीहरूविरुद्ध ठोस कारबाही नभएकोले प्रहरी संगठनभित्रको अनुशासन र पारदर्शितामाथि प्रश्न उठेको छ।
यस प्रकरणले प्रहरी प्रशासनभित्रको भ्रष्टाचार र राजनीतिक हस्तक्षेपलाई उजागर गरेको भन्दै आमजनमानसमा असन्तोष बढ्दै गएको छ।
र, यो पनि: सीआईबीमा जोगाइएका एसपी थापामाथि अनुसन्धान गर्न लिखित निर्देशन, पुरक अभियोग लगाइने
बढुवा रोकिएपछि गालीगलौजमा उत्रिए एसपी कमल थापा
मोरङबाट तानिएका एसपी सुदूरपश्चिम हानिए