धनगढी: नेकपा एमालेले स्वकीय सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम थालेको छ। पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सो कार्यक्रम थालेको हो।
जस अन्तर्गत आज सुदूरपश्चिम प्रदेशमा स्वकीय सचिवहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न यो कार्यक्रम पार्टी संसदीय दलको कार्यालयमा आयोजित गरिएको थियो।
कार्यक्रममा सुदूरपश्चिमका प्रदेश सभा सदस्य तथा मन्त्रीसँग सहकार्य गर्ने स्वकीय सचिवहरूको क्षमता अभिवृद्धि गर्ने, जिम्मेवारी स्पष्ट पार्ने, र प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक निर्देशन प्रदान गरिएको थियो। जसमा सचिवहरूले आफ्नो कार्यक्षेत्रमा पार्टीको नीति र विधिलाई प्रभावकारी रूपमा लागू गर्ने ज्ञान हासिल गर्न सकेका छन्।

यो अभिमुखीकरण कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भए पनि क्रमशः सबै प्रदेशमा सञ्चालन गरिने विभाग प्रमुख गौतमले जानकारी दिएका छन्। पार्टीका नीति र विधिमा एकरूपता ल्याउन, सचिवहरूको कार्यक्षमता बढाउन, र प्रदेश स्तरमा समन्वय सुदृढ गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ।
स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै, देशभरका स्वकीय सचिवहरूलाई प्रशिक्षणमार्फत जिम्मेवारीप्रति थप सजग र दक्ष बनाउने लक्ष्यका साथ यो कार्यक्रमलाई विस्तार गरिने छ। पार्टीले यस पहललाई कार्यक्षमता सुधारको महत्वपूर्ण आधारका रूपमा लिएको छ।