दार्चुला: राजस्थानको जयपुर शहरबाट चोरी गरी फरार भएको आरोपमा एक व्यक्तिलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का ४० वर्षीय परेखबहादुर शाही रहेका छन्।
शाहीलाई खलंगास्थित एक होटलमा बिहीबार साँझ ८ बजे पक्राउ गरिएको हो। प्रहरीका अनुसार, उनले खलंगा पुल तरेर नेपाल छिरेका थिए। पक्राउको समयमा उनीसँग दुई झोला थिए, जसमा कपडाभित्र लुकाएर ३ लाख २९ हजार भारतीय रुपैयाँ, २७८ ग्राम चाँदीजस्तो र ११० ग्राम सुनजस्तो गहनाहरू फेला परेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार, जयपुरमा करिब डेढ करोड रुपैयाँ बराबरको नगद र गहना चोरी गरेर उनी फरार भएका थिए। घटनामा भारतीय नागरिकहरूको पनि संलग्नता रहेको र उनीहरूलाई पक्राउ गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अर्को व्यक्ति भने फरार रहेको र खोजीकार्य जारी रहेको दार्चुला प्रहरी कार्यालयले जानकारी दिएको छ। चोरीको धनमाल नेपाल ल्याउनकै लागि खलंगाको बाटो प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ।
यस घटनाले भारत-नेपाल सीमा क्षेत्रमा चोरी र अपराध नियन्त्रणका लागि कडाइ गर्नुपर्ने आवश्यकता देखाएको छ।