काठमाडौँ: नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भनेर चिनाउन सकेमात्र पर्यटन क्षेत्रमा आकर्षण बढ्ने बताएका छन्। पर्यटन क्षेत्रको विस्तारसँगै सुरक्षालाई पनि सरोकारको विषय बनाउनुपर्ने उनको भनाइ थियो।
काठमाडौंमा शनिबार आयोजित ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा महानिरीक्षक कुँवरले पर्यटन विस्तारका लागि सुरक्षा चासोतर्फ पनि ध्यान दिनुपर्ने बताएका हुन्। ‘पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरूको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ।
नेपाल सुन्दर मात्र होइन सुरक्षित पनि छ भनेर हामीले विश्वमाझ आफूलाई चिनाउन सकेमात्रै पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने निश्चित छ,’ उनले भने, ‘पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशीला रहेको हुँदा प्रभेन्टिभ, प्रोएक्टिभ र क्युरेटिभ पक्षबाट सुरक्षालाई पर्यटनसँग जोड्न जरुरी छ।’
पर्यटकको सुरक्षा नेपाल प्रहरीको एकल प्रयासले मात्रै सम्भव नहुने महानिरीक्षक कुँवरको भनाइ थियो। उनले सरोकारवाला निकायहरूले पनि यसमा भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सरोकारवाला सम्पूर्ण निकायहरूको समन्वयात्मक भूमिका अपरिहार्य रहेको छ,’ उनले भने।