काठमाडौं: नेपालगञ्ज उपमहानगरपालिका–२ की ३५ वर्षीया महिलामाथि घरभित्रै जबर्जस्ती करणी भएको घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय बाँकेलाई निर्देशन दिएका छन्।
महिला सांसदहरूले दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न माग गरेपछि गृहमन्त्रीको निर्देशन आएको बताइएको छ। सोही आधारमा प्रहरीले उजुरी दर्ता गरिसकेको छ भने जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी लिन प्रक्रिया अघि बढाइएको छ।
पीडित महिलाका अनुसार, माघ ६ गते राति स्थानीय एक पुरुषले जबर्जस्ती करणी गरेका थिए। तर, आरोपीले उल्टै फोनमार्फत धम्की दिँदै आएका थिए भने प्रहरीले पनि उजुरी लिन आनाकानी गरेको पीडितको आरोप छ। १० दिनसम्म न्याय नपाएको भन्दै उनले विभिन्न निकायमा हारगुहार गरेपछि मात्रै हिजो प्रहरी प्रशासनले जाहेरी दर्ता गरेको हो।
यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले पनि बाँके प्रहरीलाई उजुरी दर्ता गर्न र अपराधमा संलग्नलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए। तर, सुनुवाइ नभएको गुनासो थियो। अब भने सरकारी स्तरबाटै चासो देखाइएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको छ।