काठमाडौं: नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) देखि शुरू भएको बढुवा प्रक्रिया अहिलेसम्म जारी छ। माथिबाट तलतिरको बढुवा निकाल्दा निकाल्दै अहिले प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा आएर अड्किएको छ।
गत भदौदेखिको रिक्त दरबन्दी आन्तरिक बढुवामार्फत पूर्ति गर्दै गइरहेको प्रहरी मुख्यालय नक्सालले डीएसपीमा बढुवा गर्ने तयारी थालेको थियो। तर तयारीमै सिमित भएपछि अहिलेसम्म बढुवा निकाल्न सकिएको छैन। जसकारण बढुवा प्रक्रियामा अड्किएको छ।
प्रहरी नियमावली, २०७१ ले इन्स्पेक्टरबाट डीएसपीमा बढुवा गर्न बढुवा समितिको अध्यक्ष प्रहरी महानिरीक्षकलाई तोकेको छ।
समितिको सदस्यमा गृह मन्त्रालयको सहसचिव र सदस्य–सचिवमा प्रहरी महानिरीक्षकले तोकेको एआईजी वा डीआईजी रहने व्यवस्था नियमावलीले गरेको छ। नियुक्तिको अधिकार भने गृहसचिवलाई दिइएको छ।
प्रहरीका प्रत्येक सरुवा–बढुवा विवादरहित हुन सकेको छैन। अब गर्न लागिएको बढुवालाई विवादरहित बनाउने कोशिशमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर रहेको उनीनिकट प्रहरी अधिकारीहरू बताउँछन्।
बढुवा प्रतिस्पर्धीमा २०६४ मा इन्स्पेक्टर भएका १ जना र २०७० मा इन्स्पेक्टर भएका ७९ जना छन्। कारबाहीबाट सफाइ पाएका इन्स्पेक्टर चन्द्रबहादुर थापा सूचीको पहिलो नम्बरमा छन्।
२०७० मा इन्स्पेक्टर भएकाहरू क्रमशः चन्द्रबहादुर थापा, इन्द्रजित इटनी, प्रताप पौडेल, बोधराज रेग्मी, वीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबहादुर जोरा, प्रवीण कार्की, रमेश दत्त अवस्थी, चन्द्रकुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढाथापा र चक्रबहादुर डम्बरपाल बढुवाका लागि प्रतिस्पर्धामा छन्।
त्यसैगरी, अनिलराज गिरी, सुरेन्द्रप्रसाद जोशी, पविन्द्रबहादुर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकरप्रसाद आचार्य, वसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, जनक पुरी, लोकबहादुर जीसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दीपक सुवेदी, पुष्कर बोगटी, चन्द्रभुषण यादव, वसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदीप बस्याल, शिला थापा, सुरेश गौतम, भीमबहादुर खड्का, रामचन्द्र तिवारी र मिलन बस्नेत पनि प्रतिस्पर्धीको सूचीमा छन्।
त्यस्तै, इन्स्पेक्टरहरू यमलाल बञ्जाडे, गुरुप्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवशबहादुर जी.सी., राजेन्द्रकुमार उपाध्याय, हरिबहादुर बी.सी., गणेशचन्द्र कोइराला, विक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा, राजकुमार सिंह, गोपीकृष्ण सुवेदी, हिमबहादुर खत्री, देवेन्द्रकुमार मल्ल, मोहनजंग बुढाथापा, शैलेश न्यौपाने, अनिलराज गिरी, शैलेन्द्रकुमार भट्ट, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्रसिंह गुरु, हिरासिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्तबहादुर सुनार, गोविन्द रावत, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, नरेशराज मल्ल, हिमा थोकर, राजिव श्रेष्ठ, भाष्कर खतिवडा, सुरजबहादुर खड्का, कृष्णप्रसाद बिष्ट, अनिल पण्डित, मदन थापा, वकिलबहादुर सिंह, हरिबहादुर बस्नेत र शंकर खड्का पनि डीएसपी बढुवाका प्रतिस्पर्धी हुन्।
२०७० मै इन्स्पेक्टरमा भर्ना भएकामध्ये १९ जना यसअघि नै डीएसपीमा बढुवा भइसकेका छन्। रञ्जन अवा, राजन लामा, अनिल ठकुरीलगायत ६५ जना इन्स्पेक्टरहरू यसअघि नै दुईपटक गरेर डीएसपीमा बढुवा भएका थिए।
बढुवा सूची गृहमन्त्रीदेखि गृह सचिवसम्मलाई देखाएर ‘ओके’ भनेपछि मात्र अन्तिममा सूची प्रकाशित गर्ने प्रवृत्ति अहिले पनि हावी छ।
‘प्रहरी नियमावलीले बढुवा समितिको अध्यक्ष आईजीसाबलाई तोके पनि नियुक्ति गर्ने अधिकारी गृह सचिवको भएकाले उनलाई बाइपास गर्न सकिँदैन,’ प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘आईजीपीले रिक्स लिन नसक्दा बढुवामा जहिल्यै राजनीतिक हस्तक्षेप बढ्दै गएको यथार्थ हो।’
गत साता मात्रै डीएसपीबाट एसपी बढुवा सिफारिस गर्दा ७ जना सिनियरलाई पाखा लगाउँदै ३७ जनालाई बढुवा सिफारिस गरिएको थियो।
बढुवामा प्रतिस्पर्धाको तेस्रो नम्बरका र डेढ वर्ष सिनियरलाई पाखा लगाउँदै बढुवा समितिले सूची निकालेको थियो। २०६१ जेठ १५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका १४ जना डीएसपी, २०६१ असार ३ मा प्रवेश गरेको वैकल्पिक टोलीका १० जना, २०६२ भदौ २३ मा प्रहरी निरीक्षकमै प्रवेश गरेका ४३ डीएसपीहरू बढुवाका प्रमुख दाबेदार थिए।
तर, २०६१ जेठ १५ को टोलीका ७ जनालाई छुटाएर एसपी बढुवा सिफारिस गरिएको थियो। बढुवामा छुटाइएका सातजना हाल सिफारिस गरिएको टोलीभन्दा डेढ वर्ष पहिले नै डीएसपीमा बढुवा भएका थिए। यो बढुवा सूची प्रकाशन गर्ने बेला पनि तीनपटकसम्म सच्याउने काम भएको स्रोत बताउँछ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले बढुवा सिफारिसमा परेका एसपीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएपछि इन्स्पेक्टरबाट डीएसपी बढुवा प्रक्रिया अगाडि बढ्ने बताए।
गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेपनि पदस्थापन हुन सकेको छैन। त्यसै क्रममा प्रहरी महानिरीक्षक अध्यक्ष रहेको बढुवा समितिले केही दिनमै डीएसपी बढुवा सिफारिस गर्ने तयारी गरेपछि प्रतिस्पर्धीहरु बढुवामा पर्ने र सुरुवाती बरियतामा रहन शक्तिकेन्द्र धाउन थालेका छन्।