काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासलाई प्राथमिकता दिँदै आवश्यक नीतिगत सुधार गर्ने बताएका छन्। आइतबार राति बालुवाटारमा संघीय तथा प्रदेश सरकारका उच्च अधिकारीहरूसँग गफगाफ गर्दै उनले विकासको गति तीव्र बनाउन निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय, औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, सेती लोकमार्ग लगायतका परियोजनाहरूलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।
छलफलमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले ६ बुँदे मागपत्र प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। मागपत्रमा दैजी छेला औद्योगिक क्षेत्र, दोधारा चाँदनी सुख्खा बन्दरगाह, प्रदेशमा वाणिज्य तथा कम्पनी रजिस्ट्रार कार्यालय स्थापना लगायतका विषय समेटिएको छ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले केही विकास योजनाहरूमा रुख कटानी आदेश ढिला हुँदा काम प्रभावित भएको बताए। उनले वन क्षेत्रलाई बाधक नबनाउने गरी आवश्यक नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बलदेव शाही (बाकाबीर) र लोकराज ढकाललाई सहिद घोषणा गर्न सिफारिस गरिएको जानकारी गराए। साथै, पूर्व मुख्यमन्त्री रावलले ओमजंग विद्रोहमा मारिएका बैतडीका बले रिचपल्यालाई पनि सहिद घोषणा गर्न आग्रह गरे।
यस्तै राजधानी कार्यान्वयनमा चुनौती
प्रदेशको राजधानी कार्यान्वयनमा देखिएको समस्याबारे छलफल गर्दै प्रधानमन्त्री ओलीले राजधानी निर्माणका लागि प्रदेश सरकारले नै समाधान खोज्नुपर्ने बताए। ६ वर्षअघि प्रदेश सभाले पारित गरेको स्थानमा निर्माण प्रक्रिया सुरु हुन नसकेको र यसबारे अदालतमा मुद्दा परेको जानकारी गराइएको थियो।
प्रधानमन्त्री ओलीले संसद्मा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक तत्काल पारित गर्ने र आगामी आर्थिक वर्षभित्र विश्वविद्यालय सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। साथै, संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई यस विषयमा विशेष ध्यान दिन निर्देशन दिए।
सुदूरपश्चिमको समग्र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संघीय र प्रदेश सरकारबीच समन्वय गरी विकास योजनाहरूलाई छिटो कार्यान्वयन गर्नुपर्ने बताए।