धनगढी: कैलालीको धनगढी घर भएकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य सरस्वती चौधरी अस्ट्रेलिया गएकी छिन्। नौ वर्षअघि सशस्त्र प्रहरी बल (एपीएफ) मा भर्ती भएकी चौधरीले हालै राजीनामा दिई अस्ट्रेलिया जाने निर्णय गरेकी हुन्।
चौधरी यसअघि केही महिना अस्ट्रेलियामा बसेर भलिबल खेलेकी थिइन्। पाँचौं संस्करणको टाइगर कप खेल्न उनी नेपाल फर्किएकी थिइन्, जहाँ उनको टोली एपीएफ क्लब फाइनलमा आयोजक टाइगर ग्रुप सँग पराजित भएको थियो। उक्त प्रतियोगितामा उनले उत्कृष्ट स्पाइकर को उपाधि जितेकी थिइन्।
१२ वर्षे एपीएफ यात्रा टुंगियो
चौधरीले १२ वर्षसम्म एपीएफ क्लबबाट व्यवसायिक भलिबल खेलिन्। उनले क्लब छोडेपछि एपीएफका प्रशिक्षक तथा खेलाडीले उनलाई विशेष रूपमा बिदाइ गरेका छन्।
सन् २०१३ देखि राष्ट्रिय टोलीका लागि खेल्दै आएकी उनले पछिल्लो पटक काभा नेसन्स लिग (साउन २०८०) मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत जित्दा टोलीको महत्वपूर्ण सदस्य, काभा नेसन्स लिग मा नेपाल दोस्रो हुँदा टोलीकी सदस्य र नेपाल पुलिस क्लब बाट काभा क्लब च्याम्पियन्सिप विजेता टोलीको हिस्सा पनि बनेकी थिइन्।
त्यस्तै उनले एपीएफ क्लबबाट खेलेर देशभरका विभिन्न प्रतियोगितामा उपाधि जित्ने सफलता मिलेको थियो।
धनगढीकी चौधरीले अस्ट्रेलिया जानुअघि भनेकी छिन्, “यदि राष्ट्रिय टोलीबाट प्रतियोगिता खेल्न बोलाइए, म फर्किनेछु।”
अब अस्ट्रेलियामा उनले भलिबल करिअरलाई निरन्तरता दिने वा नयाँ अवसर खोज्ने भन्ने विषय भने समयले बताउनेछ।