काठमाडौं: काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई पक्राउ गरेको हो।
माघ २४ गते उनीहरूसहित ५/६ जनाले ठमेलस्थित सडकमै हो हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) प्रहरीले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।
तत्काल थप मद्दत टोली नजाँदा प्रहरीलाई पिट्ने र मोटरसाइकल तोडफोड गरेको समूह भागेको थियो। खोजतलासको क्रममा उनीहरूलाई आइतबार विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
उनीहरूलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रहरीले ५ दिन म्याद लिएर अनुसन्धान थालेको छ। दुवैजनालाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।