धनगढी: कैलाली प्रहरीले ‘मोस्टवान्टेड’ सूचीमा राखेका ४८ वर्षीय फरार अपराधी देवसिंह ठकुरी उर्फ दीपकबहादुर सिंहलाई पक्राउ गरेर हिजो (बुधबार) सार्वजनिक गरियो। नेपालबाट भागेर भारतमा समेत विभिन्न अपराध गरेका उनलाई त्यहाँ सजाय दिएर नेपाल ल्याइएकोमा हिजो सार्वजनिक गरिएको हो।
कैलाली अदालतबाट भतिजाको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका ठकुरीलाई फरार भएको १२ वर्षपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले पत्रकार सम्मेलनमार्फत उनै ठकुरीलाई सार्वजनिक गर्दै उनको अपराध कर्मको विस्तृत जानकारी दिएका थिए।

स्रोतका अनुसार कैलालीकै गोदावरी नगरपालिका–११ ओलानी घर भएका ठकुरीलाई दिल्लीबाट कैलाली प्रहरीको टोलीले नियन्त्रणमा लिएर आएको हो। उसो त उनलाई पक्राउ गर्न इन्टरपोलले पनि प्रक्रिया थालेको थियो।
यद्यपि सोही अवस्थामा उनलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले दिल्लीसम्म ल्याइदिएको र त्यहाँबाट दिल्ली प्रहरीको समन्वयमा नेपाल ल्याइएको स्रोतको दाबी छ। स्रोतका अनुसार उनले भारतमा आफ्नै दाईलाई मारेको बदलामा नेपालमा भतिजाको हत्या गरेका थिए।
त्यस लगायत अन्य पनि थुप्रै अपराधमा उनको संलग्नता रहेको प्रहरीको निष्कर्ष छ। पछिल्लो पटक पक्राउ परेर कारागारमा कैद भुक्तान गरिरहेकै अवस्थामा उनी धनगढीस्थित जेलको नाइके पनि बनेका थिए।
नाइके बसेको फाइदा उठाएर उनले तत्कालीन समयमा जेलर र प्रहरीका इन्चार्जसहितलाई सेटिङ मिलाएर भाग्न सफल भएका थिए।
त्यसपछि उनले भारतबाट पटकपटक कैलाली आउने नयाँ प्रहरी प्रमुखहरु लगायतलाई फोन गर्दै थ्रेट दिने गर्दथे। तत्कालीन समयमा एसपी घनश्याम अर्याल, तत्कालीन इन्सपेक्टर सुदाम रावल लगायतलाई उनले (ठकुरी) थ्रेट दिएका थिए।

तत्कालीन समयमा धनगढी जेलको प्रहरीको इन्चार्ज भने सई ललितबहादुर बोहरा थिए। उनलाई प्रभावमा पारेर ठकुरीले गेटा आँखा अस्पताल जाने बहानामा प्रहरीसहित लगेर घर गएका थिए। त्यसपछि उनी ओलानीको घरबाटै भारततर्फ भागेका थिए।
उनले भाग्ने क्रममा प्रहरीकै मोटरसाइकल प्रयोग गरेको बुझिएको छ भने प्रहरीले भाग्नु भन्दा अगाडिका दिनहरुमा पनि विश्वासले घरसम्म पुगाउने ल्याउने गरेकाले सो दिन भने मौका छोपेर ठकुरी भागेका थिए।
सिंहले २०६४ फागुन २४ गते राति भतिजा भक्तबहादुर उर्फ बमबहादुर साउदको गोली हानी हत्या गरेका थिए। घटनालगत्तै फरार रहेका उनलाई २०६६ असार १० गते हातहतियार खरखजाना मुद्दामा पक्राउ गरी एक वर्ष कैद सजाय सुनाइएको थियो।
त्यसपछि मृतकका आफन्त जनकबहादुर साउदको जाहेरीका आधारमा उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २०६७ मंसिर २७ गते कैलाली जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
तर, २०६९ साउन २२ गते कारागारमा सेटिङ मिलाएर घर गएका उनी सजाय भोगिरहेकै बेला प्रहरीको सहयोगमा भागेका थिए। त्यसपछि भने उनलाई प्रहरीले अस्ति लामो अनुसन्धानपछि पुनः पक्राउ गर्न सफल भएको हो।
यसैबीच, सिंहविरुद्ध थप दुई मुद्दा दायर भएको खुलेको छ। कैलालीका मानबहादुर सुनारको हत्या अभियोगमा २०६२ असोज २ गते जोहरी दर्ता गरिएको थियो भने २०६५ असार १० गते सोभान टमटाको अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पनि उनीविरुद्ध मुद्दा चलिरहेको छ।
यस्तै सिंहलाई भगाउन सहयोग गरेको आरोपमा कैलाली जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब निरीक्षक (सई) लोकबहादुर बोहरा, हवल्दार गणेश चन्द र जवान दिलबहादुर टमटाविरुद्ध पनि मुद्दा दायर भई अदालतमा मुल्तबीमा रहेको छ। उनीहरू पनि भारतमा लुकेर बसेकोमा प्रहरीले उनीहरू पनि नियन्त्रणमा आउने बताएको छ।
उता ठकुरीलाई भने कारागार पठाएर अहिले प्रहरीले थप अनुसन्धान अघि बढाइएको छ। अहिले ठकुरीविरुद्ध प्रहरीले थप एक मुद्धा आकर्षित भएको जनाएको छ। उनीमाथि जेलबाट भागेको समेत मुद्दा चल्ने जनाइएको हो।
कैलाली कारागारबाट भागेपछि भारतमा लुकेका सिंहले उता पनि लुटपाट तथा चाेरीका काण्ड गरेकाे सुरक्षा स्रोत बताउँछ।
र, यो पनि: धनगढी जेलबाट भागेका कुख्यात ठकुरी वर्षौपछि प्रहरीको फन्दामा, यस्तो छ क्राइम हिस्ट्री