धनगढी: सुदूरपश्चिम प्रदेश कार्यसम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो बनेको हो।
आयोगले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमले सबैभन्दा धेरै ५१ दशमलव ६ अंक प्राप्त गरेको जनाएको छ। जबकी आर्थिक वर्ष २०७९÷०८० मा भने सुदूरपश्चिम कार्यसम्पादन मूल्याङ्कनमा पाँचौँ स्थानमा थियो।
गत वर्ष पटक पहिलो भएको कोशी प्रदेश भने दोस्रो भएको छ। कोशी प्रदेशले ५० दशमलव ९ अंक प्राप्त गरेको छ। तेस्रो भएको बागमती प्रदेशले ४५ दशमलव ६ अंक पाएको छ भने चौथो बनेको कर्णाली प्रदेशले ४१ दशमलव ६ अंक पाएको छ।
यस्तै, पाँचौँ भएकोे गण्डकी प्रदेशले ४० दशमलव ८, छैटौँ भएको लुम्बिनी प्रदेशले ३५ दशमलव ९ अंक पाएको छ भने पुछारमा रहेको मधेश प्रदेशले ३० अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
आयोगले विभिन्न सूचकांकका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ। लेखा परीक्षण, बेरुजुको अवस्था, सशर्त अनुदान, राजश्व संकलनको अवस्था, बजेट खर्चको स्थिती लगायतका आधारमा मूल्यांकन हुने गरेको छ।