धनगढी: सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य थप भएका छन्। आयोगमा उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो।
नयाँ नियुक्त भएका सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्ण कुँवर रहेका छन्। सुनारको घर कैलालीको धनगढी हो भने कुँवरको घर बैतडीको पुर्चौडी हो। नवनियुक्त सदस्यहरुले आजै सपथ ग्रहण गरे।
यसअघि मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो। कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन्। यस्तै आयोगको सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए। भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन्। चन्द एमाले कञ्चनपुरका नेता हुन्।
प्रदेश मन्त्रीपरिषद्काे शुक्रबार बसेकाे बैठकले आयाेगकाे सदस्यमा आज २ जनालाई थप नियुक्त गरेको हो। त्यसपछि उनीहरूलाई आयाेगकी उपाध्यक्ष जीवन रानाले मुख्यमन्त्री कमलबहादुर शाहकाे उपस्थितिमा पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन्। दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन्।