काठमाडौं: सशस्त्र प्रहरी बल, नेपालका लागि रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा आजभोलिमा बढुवा सिफारिस प्रक्रिया टुंगो लाग्ने सम्भावना रहेको छ। गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै आज (आईतबार) साँझ ५ बजेसम्म आवेदन दिने समयसीमा तोकेको थियो।
समाचार स्रोतका अनुसार, बढुवा समितिको बैठक आजै बस्ने सम्भावना उच्च छ। यदि बैठक आज बस्न नसके, भोलि सोमबार निर्णय लिइनेछ। विगतमा पनि सूचना सकिने दिन नै बैठक बसेर बढुवा सिफारिस गर्ने नजिर रहेकाले, आजको बैठक निर्णायक हुने आँकलन गरिएको छ।
मुख्य दाबेदारहरू को को ?
सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम (सिसम १) बाट डीआईजी भइसकेका पाँच जनापछि बाँकी रहेका चार जना अधिकृतहरू यसपटक डीआईजी बढुवाका लागि प्रमुख प्रतिस्पर्धी मानिएका छन्। तीमध्ये मनिष थापा, कृष्ण ढकाल, कृष्णराज पाठक (नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका, सिनियर उमेदवार), प्रवीण कँडेल (नेपाल प्रहरीबाट स्थानान्तरण भई आएका) मुख्य प्रतिस्पर्धामा छन्।
यस्तै सिसम १ का दीपेन्द्र कुँवर पनि बढुवा हुने लाइनमा छन्। सम्बन्धित स्रोतहरूका अनुसार, कुँवरले त्यसका लागि लबिईङ गर्दैछन्। कुँवर, पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ पनि हुन्।
बढुवा सिफारिस समितिमा गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी), र मानवस्रोत विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्यसचिवका रूपमा छन्। आईजीपी राजु अर्याल संगठनभित्र इमानदार र निष्पक्ष निर्णयकर्ताका रूपमा चर्चित छन्।
यसैक्रममा अब सशस्त्र प्रहरी डीआईजी बढुवा सीनियरिटीकै आधारमा हुनेछ कि राजनीतिक चलखेल हावी हुनेछ भन्ने चासो बढेको छ।