धनगढी: बाजुरामा विवाहको भोज खाने क्रममा विवाद हुँदा एक युवकको हत्या भएको छ। बुढीगंगा नगरपालिका–८ मा भएको घटनामा २७ वर्षीय रणबहादुर थापाको ज्यान गएको छ।
प्रहरीका अनुसार थापा बुढीगंगा नगरपालिका–९ का बासिन्दा हुन्। उनको हत्या आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेका छन्।
बाजुराका प्रहरी प्रमुख डीएसपी दिलिप गिरीका अनुसार लोकेन्द्र खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जना गाउँमा लुकेको अवस्थामा फेला परेका थिए।
मादक पदार्थ सेवनपछि विवाद, अनि हत्या
प्रहरीले प्रारम्भिक अनुसन्धानमा विवाहको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरूबीच विवाद भएको जनाएको छ। पक्राउ परेका दीर्घ विष्टले “आफूलाई सबैले दाइ भन्नुपर्छ” भन्ने अडान लिएपछि विवाद भएको थियो। सोही क्रममा झगडा चर्किँदा थापामाथि कुटपिट भएको थियो, जसका कारण उनको मृत्यु भएको बताइएको छ।
थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।