धनगढी: बैतडीमा गोली प्रहार गरेर भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट समातिएको प्रहरीले जानकारी दियो।
गत शनिबार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र बिष्टको गोली प्रहार गरी हत्या गरे बिष्ट लगत्तै फरार थिए। त्यसपछि उनको खोजी थालिएकोमा आज बिष्टलाई भारत भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न प्रहरी सफल भएको हो। लेनदेनका विषयमा विवाद हुँदा उनले गोली हानी सुरेन्द्रको हत्या गरेका थिए। हत्यापछि बन्दुकसहित फरार रहेका बिष्टको खोजीका लागि प्रहरी टोली खटिएको थियो। कर्णबहादुर बिष्टले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो। सोही बिषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका थिए।