काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको आज बिदाई गरिएको छ। चैत ५ गतेबाट उनी अनिवार्य अवकाशमा जाने भएपछि उनको बिदाई भएको हो।
यसैक्रममा अवकाशपूर्व निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने प्रहरी महानिरीक्षक (आईजी) कुँवरको आदेश गृह मन्त्रालयले रद्ध गरेको छ। शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरी बृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी आईजी कुँवरले आदेश दिएका थिए।
तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेश शुक्रबार राति नै आईजीको आदेशलाई गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएका छन्।
प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार आइतबार रवाना बुझाउने गरी काज आदेशबमोजिमको पत्र बनिसकेको अवस्थामा इन्स्पेक्टर न्यौपानेलाई खटाउने काम रोकिएको हो।
उनले गरेका दुई काज सरुवामध्ये एकलाई गृहमन्त्रालयले रोकिदिएको हो। यस घटनाले आईजीपी कुँवर विवादमा तानिएका छन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार न्यौपाने हाल नेपाल प्रहरी श्रीमती संघमा कार्यरत थिए। उनी यसअघि भक्तपुर जिल्ला ट्राफिक कार्यालय प्रमुखका रूपमा कार्यरत थिए।
नेपाल प्रहरीको मापदण्ड अनुसार, कुनै पनि अधिकृतले एक युनिटको इन्चार्ज बनेपछि एक वर्ष नपुग्दै अर्को युनिटमा इन्चार्ज हुन पाउँदैन। तर, न्यौपानेले यसअघि ‘क’ श्रेणीका बलम्बु प्रभाग र भक्तपुर जिल्ला ट्राफिक कार्यालयमा कमाण्ड गरिसकेका कारण उनको दाङ ट्राफिक सरुवा रोकिएको स्रोतले जनाएको छ।
डीएसपी मल्लको सरुवा
यसैबीच, चापागाउँ प्रहरी वृत्तका प्रमुख डीएसपी डिलबहादुर मल्ललाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरिएको छ। उनले चापागाउँ प्रहरी वृत्तमा एक वर्षे कार्यकाल पूरा गरेका थिए। यस्तै डीएसपी यमकुमार श्रेष्ठलाई बृत चापागाउँ ललितपुर पठाइएको छ।
नेपाल प्रहरीमा सरुवा र बढुवासम्बन्धी मापदण्ड पटक–पटक मिचिँदै आएको छ।