काठमाडौं: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने भएका छन्। हालका महानिरीक्षक बसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ।
त्यसलगत्तै सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्न लागेको स्रोतले जनाएको छ।स्रोतका अनुसार आज रातभर कुनै थप चलखेल नभएको अवस्थामा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको छ।
यसैक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजी) कुँवरलाई सशस्त्र प्रहरी बलले आज बिदाई गरेको छ। सशस्त्र मुख्यालय हल्चोकमा आज आइतबार एक कार्यक्रमकाबीच सशस्त्र आईजी राजु अर्यालले कुँवरलाई बिदाई गरेका थिए।
कुँवर प्रहरीको ३० वर्षे सेवा अवधिका कारण भोलि ४ चैतको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। ३० वर्षे लामो प्रहरी करिअरबाट बिदा हुँदै गरेका कुँवरलाई भोलि सोमबार प्रहरी हेडक्वाटरले बिदाई कार्यक्रम गरी पठाउने तयारी गरको छ।
कुँवरको अवकाशसँगै ३१ औं आईजीका लागि एआईजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा भएपनि थापा आइजी नियुक्त हुने भएका हुन्। प्रतिस्पर्धामा रहेका एआइजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजी बनाउन लागिएको हो। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ।
थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख छन्। एआईजीमध्ये थापा वरिष्ठतम् हुन्।