धनगढी: कैलालीको लम्की चुहा नगरपालिका–२ मोतीपुरमा प्रहरीको उपस्थितिमै स्थानीय कमल रावलमाथि खुकुरी आक्रमण भएको छ। घटनापछि प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।
शनिवार साँझ ६ बजे अनुप शाहीसहितको समूह इलाका प्रहरी कार्यालय (इप्रका) लम्कीमा पुगेर कमल रावलले आफूलाई बन्धक बनाएको, हतियार देखाएर यातना दिएको भन्दै उजुरी दिएको थियो।
प्रहरीकै अगाडि आक्रमण
प्रहरीका अनुसार उजुरीका आधारमा प्रहरी टोली रावलको घरमा पुगेको थियो। प्रहरी कमलका बुवासँग कुरा गरिरहेको बेला रावल घरको पछाडिबाट भाग्ने प्रयास गरे। सोही बेला १२–१३ जनाको समूह अचानक आइपुगेको र धारिलो हतियार प्रयोग गरी रावलमाथि आक्रमण गरेको बताइन्छ।
प्रहरीले भीड नियन्त्रण गर्न प्रयास गरेको दाबी गरे पनि स्थानीयवासीले भने प्रहरीकै सामुन्ने आक्रमण भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार आक्रमणका बेला प्रहरी मौन बसेको थियो।
गम्भीर घाइते भएका रावललाई लम्की चुहा अस्पतालमा प्रारम्भिक उपचारपछि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको छ।
प्रहरीमाथि लापरबाहीको आरोप
घटनापछि आक्रोशित स्थानीयवासी तथा रावलका आफन्तले पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्ध गरे। उनीहरूले घटनालाई नियोजित भन्दै प्रहरीकै संरक्षणमा आक्रमण भएको आरोप लगाए।
प्रहरीले भने किटानी जाहेरी आएपछि दोषी पक्राउ गर्ने प्रतिबद्धता जनाएको छ।प्रहरीका अनुसार आक्रमणकारी समूह फरार रहेको र खोजी कार्य जारी रहेको छ।