काठमाडौं: सर्वोच्च अदालतले नेपाल प्रहरीमा डीआईजी बढुवाका निम्ति एमपीएस कोर्ष अनिवार्यको व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ।
सेना र सशस्त्रमा स्टाफ कलेज भने जस्तो प्रहरीमा मास्टर्स इन पुलिस साइन्स (एमपीएस) उत्तीर्ण भएकाले मात्र एसएसपीभन्दा माथिल्लो दर्जामा बढुवा पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।
न्यायाधीश कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार रिटमा माग दाबी गरिएकोमध्ये केही विषयमा अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, आदेशको पाठ भोलिमात्रै सार्वजनिक हुनेछ।
गएको फागुन २७ मा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई सोमबार (आज) लाई बोलाएको थियो। दुवै पक्षको बहस सुनेपछि इजालासले रिटमा उठाइएका आंशिक विषयमा मात्र अन्तरिम आदेश जारी गरेको हो।
प्रहरी प्रधान कार्यालयले कानुनविपरीत एमपीएस कोर्स लागु गर्न खोजेको भन्दै ०७० मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भई हाल प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका २० जनाले फागुन २६ मा सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट दायर गर्नेमा पर्यटन प्रहरी भृकुटीमण्डपमा कार्यरत रिपेन्द्र कुमारसहितका डीएसपी छन्।