काठमाडौं: नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका छन्।
गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री लेखकले कुँवरलाई सम्मानपूर्वक बिदाइ गर्दै उनको सेवा अवधिभर पुर्याएको योगदानको प्रशंसा गरे। उनले कुँवरलाई मायाको चिनो प्रदान गर्दै अवकाशपछिको जीवनका लागि शुभकामना व्यक्त गरे।
गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी संगठनको प्रमुख पदमा रही देशको शान्ति-सुरक्षाका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताए। उनले कुँवरको दीर्घकालीन सफलताको कामना गर्दै सेवा निवृत्तपछि पनि मुलुकका लागि योगदान दिने विश्वास व्यक्त गरे।
आईजीपी कुँवरले आफ्नो कार्यकाललाई गौरवको रूपमा लिएको बताउँदै प्रहरी संगठनलाई सुदृढ बनाउन नेपाल सरकार र गृहमन्त्रालयबाट प्राप्त मार्गनिर्देशनप्रति कृतज्ञता व्यक्त गरे। उनले प्रहरी संगठनको आधुनिकीकरण, प्रविधि उपयोग, तथा सुधारका लागि आफूले गरेका प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिए।
नयाँ आईजीपीको नियुक्तिको प्रतिक्षा
आईजीपी कुँवरसहित उनका ब्याचका अन्य उच्च प्रहरी अधिकृतहरू सोमबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। तर, नयाँ आईजीपीको नियुक्तिबारे सरकारले औपचारिक निर्णय गरिसकेको छैन।
यसैबीच, प्रहरी प्रधान कार्यालयमा कुँवरको बिदाइ समारोहको समय पटकपटक पर सारिएको छ। अपराह्न ४ बजेका लागि तोकिएको कार्यक्रम मन्त्रिपरिषद् बैठक ढिलो सुरु भएकाले ५ बजे सारिएको थियो। तर, ६ बजेतिर बैठक सुरु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, नयाँ आईजीपीलाई जिम्मेवारी हस्तान्तरणसमेत गर्ने योजना छ। तर, मन्त्रिपरिषद् बैठक ढिलाइ भएकाले कार्यक्रम प्रभावित भएको छ।