धनगढी: कैलालीको गोदावरी नगरपालिका-८ जमुनाभाणीकी ३७ वर्षीया पूर्ण अपाङ्गता भएकी अरुणा चौधरीले घरमै बसेर नेपाली नागरिकता प्राप्त गरेकी छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमालसहितको टोली मंगलबार बिहान उनको घर पुगेर नागरिकता प्रदान गरेको हो।
अरुणाका बाबु जीतबहादुर चौधरीका अनुसार उनी जन्मिँदा सामान्य थिइन्, तर पाँच-छ महिनाको उमेरमा गम्भीर बिरामी परेपछि पूर्ण रूपमा अपाङ्गता भइन्। उनी बोल्न, हिँड्न वा आफूले केही गर्न सक्दिनन्। बाबु-आमाले उनलाई उठाएर मात्र घरभित्र बाहिर गराउने गर्छन्।
अरुणालाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म लैजान परिवारलाई असम्भव भएकाले जीतबहादुरले केही दिनअघि आफ्नै नागरिकताको प्रतिलिपी लिन जाँदा प्रशासनका अधिकारीलाई समस्या सुनाएका थिए। यसपछि प्रमुख जिल्ला अधिकारी हमालसहित शाखा अधिकृत शिवराज जोशी र तेजबहादुर पार्कीको टोली घरमै पुगेर नागरिकता दिने निर्णय गरेको थियो।
नागरिकता प्राप्त गर्दा अरुणाले जोडजोडले कराएको देखेपछि उनकी आमा छोटकनियाले भनिन्, “खुसी भयो भने यस्तो गर्छ।” छोरीको नागरिकता बन्ने आश मारेका जीतबहादुर प्रशासनको टोली घरमै आएर नागरिकता प्रदान गरेपछि निकै भावुक बने।
प्रजिअ हमालले अपाङ्गता भएका तथा अशक्त नागरिकलाई प्रशासनिक सेवा प्रदान गर्न सक्दो सहज बनाउने आफ्नो प्रयास रहेको बताए।
गोदावरी नगरपालिका-८ का वडाध्यक्ष गोबिन्द चौधरीले प्रशासनको यो कदम प्रशंसनीय भएको भन्दै अशक्त तथा विशेष आवश्यकता भएका व्यक्तिहरूलाई यस्ता सेवाहरू प्रदान गर्नुपर्ने बताए।
चार छोरीमध्ये माइली अरुणा पूर्ण अपाङ्गता भएकी हुन् भने उनका तीन दाजु आआफ्नै व्यवसायमा संलग्न छन्। कृषि पेशामा निर्भर रहेका जीतबहादुर र छोटकनिया आफ्नी छोरीको हेरचाह गर्दै आएका छन्। अब अरुणाले नागरिकताको कानुनी पहिचान पाएसँगै उनको भविष्यसम्बन्धी केही प्रक्रियाहरू अगाडि बढाउन सहज हुने परिवारको विश्वास छ।