काठमाडौं: काठमाडौँको टोखाबाट २५ करोडभन्दा बढी नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर सिन्धुपाल्चोक घर भएका ४३ वर्षीय कुसान लामालाई सार्वजनिक गरेको हो।
प्रहरीले बिहान टोखा नगरपालिका–१ स्थित झोर सडकखण्डबाट ना.७ख १६५२ नम्बरको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो। ट्रकभित्र भेटिएको साढे २५ करोडभन्दा बढी नेपाली र विदेशी मुद्रा अवैध सुन खरिदको लागि चीनको केरुङतर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका लामा यसअघि पनि सात किलो सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर ०७८ मा छुटेका थिए। बरामद रकम ओसारपोसारमा लामा भरिया मात्रै रहेको र मुख्य नाइकेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उक्त रकम सुन तस्करीकै लागि प्रयोग हुन लागेको अनुमान गरिएको छ। यिनै लामा २०७३ पुस १३ मा राजस्व छली गरेको ७ किलो सुनसहित पक्राउ परेका थिए। ५ वर्ष कैद भुक्तान गरेर उनी २०७८ मा छुटेका थिए। त्यसपछि पनि लामाले पुरानै धन्दालाई निरन्तरता दिएको प्रहरीको आशंका छ।
प्रहरीसँगको बयानमा लामाले आफू भरिया मात्रै रहेको बताएका छन्। पैसा चिनियाँ नागरिकले दिएको र आफूले उनलाई नचिनेको लामाको दाबी छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का लामाले उक्त डलर र यूरो सुन खरिदकै लागि चीनतर्फ लैजान लागेको प्रहरीको आशंका छ।
प्रहरीले घटना सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले भने, ‘पैसा कसको हो भन्ने खुल्न बाँकी छ, तर हामी प्रस्ट रूपमा भन्न सक्छौं, यो रकम सुन खरिदकै प्रयोजनार्थ केरुङ लैजाने क्रममा हामीले बरामद गरेका हौं।’
स्रोतले भने यो रकम तस्कर रमेश शेर्पाको भएको दाबी गरेको छ। उनी पहिले तातोपानी नाकाबाट भन्सार छल्दै भेप र सुन ल्याउथे, त्यहाँ सवारीसधान स्क्यानको लागि एक्सरे प्रविधिको जडान गरिएपछि बाटो फेरेर रसुवा नाका समातेको हुनसक्ने अनुमान छ।
शेर्पा समूहले २५ करोड विदेशी मुद्रा केरुङ लैजान लागेको खबर अर्का तस्कर दिपेश चालिसेको समूहले चुहाएको कतिपयको अनुमान छ। स्रोतका अनुसार शेर्पा र चालिसे कट्टर दुश्मन हुन्।
दुई महिनाअघि मात्रै यी दुईले एकअर्काको पोल खोलाखोल गर्दा शेर्पा समूहको एक लाखभन्दा बढी र चालिसे समूहको १९ हजार भेप राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।