धनगढी: दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका-४ ऐरीछाना निवासी ४५ वर्षीया सीता धामीको मृत्यु भएको छ्। उनको परिवार नियोजन शल्यक्रियापछि उत्पन्न जटिलताका कारण निधन भएको हो।
परिवार तथा स्थानीयबासीले उनको शल्यक्रिया प्रक्रियामा लापरवाही भएको दाबी गर्दै दोषीउपर कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
फागुन २१ गते मालिकार्जुन गाउँपालिका स्वास्थ्य कार्यालय पस्तीमा आयोजित परिवार नियोजन शिविरमा सहभागी भएकी धामीको शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बन्दै गयो। अवस्था गम्भीर बनेपछि उनलाई तत्काल जिल्ला अस्पताल दार्चुला लगिएको थियो। त्यहाँ उचित उपचार सम्भव नभएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा झिकाइएको थियो।
त्यसपछि सेती अस्पतालमा करीब दुई हप्ता आईसीयूमा राखेर उपचार गरिए पनि सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको थियो। तर, उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजले उनलाई आज मृत घोषणा गरिएको छ।
आफन्तले परिवार नियोजन संघको आयोजना तथा स्थानीय पालिकासमेतको सहकार्यमा लगाइएको शिविरमा शल्यक्रिया लापरबाही गर्दै आन्द्रामा पनि समस्या निम्त्याएको र त्यसपछि मृत्युसम्म पुगेको जनाएका छन्।
धामीका परिवारजनले शल्यक्रियामा गम्भीर लापरवाही भएको दाबी गर्दै दोषी चिकित्सकमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्। साथै, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरिएको छ। उता, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा धामीले भने उल्टै शिविरमा त्रुटि नभएको भन्दै बचाउ गरेका छन्। उनले महिलाको शल्यक्रिया सफल भएको तर भारी काम गरेकाले समस्या आई मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।
यस घटनाबारे प्रशासनले भने औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर, पीडित पक्षको न्यायका लागि उचित छानबिन तथा कारबाहीको माग बढ्दै गएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा यस्ता सुत्केरी तथा परिवार नियोजन सम्बन्धिका समस्याले अकालमै ज्यान जाने किसिमका घटना बढिरहेको बताइन्छ।