काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र,नेपाल मामिलाका जानकार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मधेसका मुख्यमन्त्रीले भेट गरेका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले युपी पुगेर आदित्यनाथसँग भेटवार्ता गरेका हुन्।
दुई समकक्षीबीचको भेटवार्ताबारे कसैलाई जानकारी गराइएको छैन। मुख्यमन्त्री सिंहले संघीय सरकार,प्रदेश सभा सचिवालय, प्रदेश प्रमुख, र उनको पार्टीलाई भ्रमणबारे जानकारी नगराएको बताइएको छ।
दुई देशका मुख्यमन्त्रीबीच भेटवार्ता हुँदा धेरै कुराले अर्थ राख्ने प्रदेश सभा सचिवालय बताउँछ। त्यहाँका एक कर्मचारीले भने, ‘दुई देशको मुख्यमन्त्रीबीच भेटवार्ता हुँदा कम्तिमा औपचारिक जानकारी गराउनुपथ्र्यो, यस्तो भेटमा दुई मुलुकको राजनीति तथा कूटनीति, आर्थिक परियोजनालगायत जोडिएको हुन्छ। तर, हामीले पनि फेसबुकमा फोटो देखेर थाहा पायौँ।’
उता जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहको भेटवार्ताबारे केहि जानकारी नभएको बताएको छ।बताइए अनुसार आदित्यनाथ र सिंहबीच राम-सीता सर्किट परियोजना र आयोध्या पुग्ने पर्यटकलाई जनकपुरधामसम्म पुर्याउने योजनाबारे छलफल भएको छ। त्यस्तै, नेपाललाई हिन्दुराज्य घोषणा गर्न अभियान चलाउनुपर्ने विषयमा पनि कुराकानी भएको बताइएको छ।
यीनै योगीले दुई महिनाअघि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट नदिएको चर्चा थियो। प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान र उत्तर प्रदेश सरकारले आयोजना गरेको ‘महाकुम्भ समिट’ मा सम्बोधन गर्न निम्त्याएका देउवाले अन्तिम घडीमा यात्रा रोकेका थिए।
तिर्थाटनको बहानामा दिल्ली पुगेर भारतीय संस्थापन पक्षका केही नेतालाई भेट्ने रहर पूरा नहुने भएपछि उनले भ्रमण स्थगित गरेको काँग्रेसकै केही नेताको दावी थियो। नरेन्द्र मोदी र एस. जयशंकरले समय नदिएपछि योगीसँग भेट्ने प्रयास गरेका देउवालाई उनले समेत वास्ता नगरेको चर्चा चलेको थियो।