महेन्द्रनगर: उत्तराखण्डस्थित देहेरादूनमा इण्डो–नेपाल अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव २०२५ सुरु भएको छ।शुक्रबारदेखि देहेरादूनको रेञ्जर मैदानमा तेस्रो संस्करणको इण्डो–नेपाल अन्तराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको हो।
जसको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एक कार्यक्रमकाबीच शुक्रबार उद्घाटन गरेका छन्। मेलाले नेपाल–भारतबीच सांस्कृति तथा व्यापारिक सम्बन्ध थप विकास हुँदै जाने मुख्यमन्त्री धामीले विश्वास व्यक्त गरे।

‘नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ। दुई देशको व्यापारिक र पर्यटकीय सम्बन्धलाई यो मेलाले यो अझ विकास गर्न मद्धत गर्नेछ,’ उनले भने।
मेला उद्घाटन सत्रमा नेपालका पनि व्यापारी तथा नेता सहभागी थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा उद्योग वाणिज्य संघले इण्डो–नेपाल अन्तराष्ट्रिय मेलाको आयोजना गरेको हो। मेला ५ दिनसम्म चल्नेछ।
मेलामा भारत र नेपालका व्यापारीहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर स्टल राखेका छन्। मेलाका लागि सुदूरपश्चिमदेखि पूर्वसम्मका नेपाली व्यापारी देहेरादूनमा जमघट भएका छन्। मेलामा ५० नेपाली स्टल छन्।