काठमाडौं: अमेरिकाको भर्जिनिया राज्यमा क्रुर र पाशविक तवरले घाँटी रेटेर पत्नी ममता काफ्लेको हत्या गर्ने नरेश भट्टविरुद्धको मुद्दामा अस्ति तोकिएको पेशी स्थगित भएको छ। मनासस प्रिन्स विलियम्स काउन्टी अदालतको मार्च २० तारिखको पेशीमा प्रहरी हिरासतभित्र रहेका भट्टलाई उभ्याउने तयारी थियो। तर पेसी स्थगित भएको हो।
स्रोतका अनुसार हालसम्म भट्टले अपराध स्वीकार्ने कुनै सम्भावना नदेखाएको बताइन्छ। ममताको शव नभेटिएको र भेटिने सम्भावना नरहेकोले पेसी स्थगित भएको पनि अनुमान गरिएको छ।
यस अगाडि शव खोज्न प्रहरीले जारी गरेको ४४ वटा सर्च वारेन्ट विभिन्न राज्यमा समेत पठाइएको थियो।
यसबीच हत्या भएको स्थान मनासस नगरका प्रमुखले पत्रकार सम्मेलन गरेका छन्। उनले ममताको शव नभेटिएको र भेटिने सम्भावना नरहेको ठोकुवा गरेका छन्।
पछिल्ला केही प्रमाणले ममताको हत्यापछि शवलाई टुक्रा टुक्रा पारेर फोहोर फाल्ने डम्पिङ साइटको फोहोरको थुप्रोमा फालिएको बलियो आशंकातिर धकेलेको छ। भट्टले श्रीमतीको शवलाई बोरा वा झोलामा हालेर डेढ सय किलोमीटर टाढा पुर्याई फालेको अनुमान छ।
फोहोरको थुप्रोमा फालिएको शवका टुक्रा फोहोर वर्गिकरण गर्ने क्रममा कहाँ पुग्यो भन्ने अन्यौल छ। उक्त व्यवसायमा संलग्नहरुलाई समेत त्यसबारे केही थाहा नभएको अवस्था छ।
प्रहरी हिरासतमा रहेका नरेशविरुद्ध मुद्दाको मुख्य सुनुवाई सेप्टेम्बरमा हुने भएकाले शव फालेको गतिलो प्रमाणको अभावमा हुने आदेशबारे अनेक चर्चा गर्न थालिएको छ। हुन त श्रीमतीको शवलाई टुक्रा पारेर बोरामा हालेको सिसिटिभी फुटेज पनि प्रहरीले पहिले नै फेला पारिसकेको छ।
यता घटनास्थलबाट तत्काल रगतको नमूना संकलन गरी प्राप्त डिएनए नतिजापछि अदालतको ग्राण्ड जुरीले दिएको अनुमतिपश्चात् प्रहरीले छ महिनाअघि अभियोग पत्र अदालतमा लगेको थियो। मंसिर दोस्रो साता पहिलो पेशी राखेको अदालतले अस्ति दोस्रो पेशी तोकेको थियो। सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनुवाइ गरेपछि बल्ल फैसला सुनाइन्छ।
को हुन् नरेश भट्ट ?
सुदूरपश्चिम कञ्चनपुरको बेल्डाडीका नरेश भट्ट मेडिकल रिप्रेजेन्टिटिभ (एमआर) को काम गर्थे। सोहीक्रममा २०६९ सालमा धनगढीमा सेती प्रादेशिक अस्पताल अगाडि हरी गौतमसंग मिलेर नमूना मेडिकल हल सञ्चालनमा ल्याए। २०७० सालमा हरी गौतम डिभी परेर अमेरिका गए। त्यतिबेलासम्म स्वर्गदारी र नमूना मेडिकल हल छुट्टाछुट्टै सञ्चालनमा थिए। तर दुईटै पसलको ल्याव एउटै थियो।
गौतम अमेरिका गएपछि नरेशले त्यसपछि टेक बहादुर साउँद र सुरेश पुरी मिलेर संयुक्त रुपमा जनता स्वर्गद्धारी क्लिनिक सञ्चालन गरे। त्यसैबीच उनलाई सात लाख रुपैया घोटाला गरेको आरोप लाग्यो। र, उनले त्यो रकम तिरे। त्यसको एक वर्षपछि २०७२ मा डिभी परेर नरेश अमेरिका गए।
उनी अमेरिका पुगेपछि त्यहाँको सेनामा भर्ना भए। केही वर्ष अमेरिकी सेनामा रहेर काम गरे। तीन वर्षअघि काभ्रेकी ममता काफ्लेसंग बिबाह गरे। बिबाह गरेको केही समयपछि नै उनीहरुबीच खट्पट शुरु भएको बताईन्छ। त्यहीक्रममा नरेशले ममताको हत्या गरेको बताईएको छ। उनीहरुकी एक वर्षीया छोरी छन्।