काठमाडौं: सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जितेको छ। ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदकसहित सो बाहिनी प्रथम भएको हो।
त्यसैगरी नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही ८ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो भएको छ भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण, ७ सजत र ८ कास्यसहित तृतीय भएको छ।

२०८१ चैत ८ गते शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिताको समापन गर्नुकासाथै बिजयी टिम, खेलालीहरुलाई ट्रफी, मेडल प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गरे।
समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिमा सामूहिक भावनाको विकास गर्नुको साथै अनुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
समापन समारोहमा भएको फुटबल प्रतियोगितामा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरीलाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गरी प्रथम भएको छ।
नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत ३ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरु समावेश गरिएको थियो।