अछाम: अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, अनुसन्धानपछि प्रहरीले अदालतमा प्रतिवेदन पेश गरेपछि अदालतले डोटीस्थित सुधार गृह पठाउने निर्णय गरेको हो।
जिल्ला प्रहरी कार्यालय अछामका निरीक्षक टेकबहादुर देउवाका अनुसार, हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा पठाइएको हो। “प्रहरी कार्यालयले सबै अनुसन्धान सकेर अदालतमा बुझाइसकेको छ। अहिले साक्षीहरूलाई बोलाउने र बकपत्र लिने प्रक्रिया अघि बढिरहेको छ,” उनले भने। नेपाल कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका अपराधीलाई कारागार पठाउन नमिल्ने व्यवस्था छ।
प्रेम सम्बन्धका कारण हत्या
प्रहरी अनुसन्धानअनुसार, मृतक इशरा र सरस्वती ती किशोरहरूसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। अनुसन्धानका क्रममा शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेकै कारण किशोरीहरूको विभत्स हत्या गरिएको निष्कर्ष निकालिएको छ।
र, यो पनि: यौन प्रस्ताव नकार्दा घटेको अछाम घटना, कसरी भयो हत्या ? [प्रहरी रिपोर्ट]