काठमाडौं: काठमाडौं कालिमाटीस्थित पाँचतारे होटेल सोल्टीमा रहेको क्यासिनो माजोङ। जसका मालिक हुन्, विनोद श्रेष्ठ। श्रेष्ठ जसले राजधानी र राजधानी बाहिरको सहर नेपालगन्जमा क्यासिनोको आडमा अनेकन अपराध धन्दा गरिरहेका छन्।
श्रेष्ठले व्यवसायी नकाबभित्र आपराधिक कुरूप धन्दा चलाइरहँदा क्यासिनो नियामक निकाय, सरकार तथा प्रहरी प्रशासन भने सेटिङ मिलाएर बिकिसकेका छन्। जसमा प्रहरीले नै मिलेमतो गरेर आर्थिक सेटिङ मिलाएको आरोप लाग्दै आएको छ भने क्यासिनोमा अवैध रुपमा नेपालीलाई प्रवेश गराउनेदेखि हुन्डी कारोबार, नक्कली भारतीय परिचयपत्र बनाउने, अवैध यौन धन्दा, ठगी लगायतका अपराध हुने गरेका छन्। तथापि नियामक निकाय भने मूकदर्शक बनेको देखिन्छ।
उसो त सन् १९६८ मा नै अधिराजकुमार हिमालय विक्रम शाहले सोल्टीमा क्यासिनो नेपाल खोलेका थिए। सुरुमा त्यो क्यासिनोमा विदेशी नागरिक मात्रै जुवा खेल्न जान्थे। तर बिस्तारै नेपाली नागरिक पनि क्यासिनो छिर्न थालेपछि नेपाली युवापुस्तामा क्यासिनोको लत बस्दै गयो।
क्यासिनोले नै कयौँको उठीबास भयो। घर खेत बन्धकी हुँदै बेचियो। अनि सरकारले ऐन नै ल्याएर सन् १९८० देखि क्यासिनोमा नेपालीको प्रवेशमा पूर्ण प्रतिबन्ध लगायो।
तर प्रतिबन्ध लगाएको ४४ वर्षपछि सम्म पनि गैर कानुनी रुपमा क्यासिनोमा नेपालीको प्रवेश गर्ने क्रम रोकिएको छैन। अहिले पनि उहीँ नियति छ।
यसमा मुख्य भूमिका प्रहरी प्रशासनको रहेको बताइन्छ। प्रहरीको सहयोगबिना क्यासिनोमा नेपाली प्रवेश सम्भव नै छैन। तर माजोङमा भने श्रेष्ठले प्रहरी सेटिङमा नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउँदै आएको खुलेको छ।
काठमाडौँमा मात्रै आधा दर्जन बढी क्यासिनो छन्। तर, तीमध्ये पछिल्लो समयमा नेपाली नागरिकलाई गैर कानुनी रुपमा क्यासिनोमा प्रवेश गराउने कार्यमा अग्रणी भूमिका होटेल सोल्टीमा रहेको क्यासिनो माजोङको छ। त्यहाँ गैर कानुनी रुपमा दिनहुँ दर्जनौँ नेपाली नागरिकको प्रवेश हुने गरेको छ।
माजोङ क्यासिनो निकट विशेष स्रोतका अनुसार त्यहाँ प्रहरी प्रशासनकै मिलेमतोमा क्यासिनो व्यवस्थापनले नेपालीलाई प्रवेश गराउँदै आएका छन्। क्यासिनोमा नेपाली नागरिकलाई पूर्णरुपमा प्रवेश निषेध छ। तर, खुल्लमखुल्ला रुपमा नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाएको भिडिओ तथा तस्बिरहरू महेन्द्रनगरपोष्टले प्राप्त गरेको छ।
नेपालीलाई प्रवेश गराए क्यासिनोको इजाजत नै रद्द हुने कानुनी व्यवस्था भए पनि कार्यान्वयन निकाय फितलो भएकाले नेपाली नागरिक दैनिक माजोङ प्रवेश गरिरहेका छन्।
को हुन क्यासिनो माजोङका सञ्चालक ?
क्यासिनो माजोङ होटेल सोल्टीमा छ। क्यासिनो माजोङका ३ जना सञ्चालक छन्। जसमा भारत सिक्किमका विकास चाम्लिङ र उर्गेन लद्दागी छन् भने नेपाली सञ्चालक विनोद श्रेष्ठ हुन्। उनीहरू तीनै जना भारतको दिल्ली विश्वविद्यालयमा सँगै पढेका साथी हुन्।
चाम्लिङ भारतको सिक्किममा २५ वर्ष शासन गरेका पूर्व मुख्यमन्त्री पवन चाम्लिङका छोरासमेत हुन्। चाम्लिङका उनै दोस्त श्रेष्ठ २०७४ सालमा पक्राउ पनि परेका थिए। त्यहीँ क्यासिनो माजोङमा नेपाली प्रवेश गरेको पाइएपछि प्रहरीले छापा मारी श्रेष्ठसहित १९ जना नेपालीलाई पक्राउ गरेको थियो। तर, उनी केही समयमै पछि छुटेका थिए।
छुटेपछि पुनः नेपाली छिराउने धन्दालाई निरन्तरता दिएका श्रेष्ठले क्यासिनोभित्र विभिन्न व्यापारी, मिटरव्याजी, डोल्पाबाट निर्वाचित सङ्घीय सांसद,पूर्व सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता धनबहादुर बुढा, काठमाडौँका होटेल राजु लामा, काठमाडौं टोखाका किरण कुँवर लगायतलाई निर्बाध क्यासिनो प्रवेश गराउँथे।
श्रेष्ठले सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर, अत्तरियासहित मध्यपश्चिम र राजधानी लगायत अन्य जिल्लाका जुवाडेलाई पनि क्यासिनो प्रवेश दिएका थिए। अहिले क्यासिनोकै कारण कयौँ जुवाडे डुबेका छन्।
त्यसैसरि श्रेष्ठले महिला जुवाडेलाई पनि क्यासिनो प्रवेश दिएको पाइएको छ। श्रेष्ठले रानी अधिकारी, सङ्गीता केसी र हेलन राणा लगायतलाई माजोङ प्रवेश दिने गरेको पाइएको हो।

नेपाली खेलाडीले क्यासिनो प्रवेशअघि त्यहाँका कर्मचारीहरूको नाममा गैर कानुनी रुपमा बैंकखातामा रकम जम्मा गर्ने गरेका छन्। माजोङका सञ्चालक श्रेष्ठले प्रहरीदेखि गृह तथा पर्यटन मन्त्रालयसम्मै सेटिङ मिलाएको आरोप छ।

सेटिङ गर्दा क्यासिनोका कर्मचारीले मन्त्रालय, प्रहरी मुख्यालय तथा स्थानीय प्रहरीसम्मै मोटो रकम र विभिन्न ब्रान्डका मदिरा उपहार भन्दै दिने गरेको बताइन्छ।
नेपाली प्रवेशपछि लफडा नहोस् भन्नका लागि क्यासिनो माजोङका सञ्चालकले परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय, वृत्त कालीमाटीसम्मै सेटिङ गर्ने गरेका छन्।
सेटिङ कार्य क्यासिनोभित्र जुवाडेलाई मिटर ब्याजमा रकम लगानी गर्ने मुख्य लगानीकर्ता विनोद घिमिरे, सेक्युरिटी इन्चार्ज तिमिल्सीना र सञ्चालक विनोद श्रेष्ठले गर्दै आएको स्रोतको दाबी छ।
छापा छल्न ३ गोप्य ढोका
माजोङ प्रहरीकै सेटिङमा सञ्चालन हुने गर्छ। तर कहिलेकाहीँ सेटिङ नगरिएका प्रहरी निकायबाट छापा हान्ने सम्भावना भएकाले क्यासिनोबाट नेपाली नागरिकलाई बाहिर निकाल्न ३ गोप्य ढोका बनाइएका छन्।
स्रोतका अनुसार एउटा ढोका क्यासिनोबाट डान्स क्लब हुँदै बाहिर निस्किन्छ भने अर्को क्यासिनोको किचेनबाट निस्किन्छ। त्यसै गरी तेस्रो ढोका क्यासिनोको बिचमै छ।
ठाउँ-ठाउँमा अफिस
अवैध धन्दावाला क्यासिनो माजोङ भारतको सिक्किममा पनि छ। त्यसै नामले सोल्टीमा पनि खुलेको हो। यसको मुख्य फाइनान्स कार्यालय भारतको नयाँ दिल्लीमा छ। भारतबाट आउने खेलाडीले सबै रकम दिल्लीमै जम्मा गर्छन्। उनीहरूलाई नेपाल पुगेपछि क्यासिनो माजोङले काठमाडौँमा क्वाइन उपलब्ध गराउँछ। हारेको पैसा यहि सकिन्छ भने जितेको रकम दिल्लीबाटै प्राप्त गर्छन्।
नेपालीकै भारतीय आधार कार्ड
माजोङमा प्रवेश गर्ने नेपालीको भारतीय आधार कार्ड समेत क्यासिनोकै सेटिङमा बनाउने गरेको खुलेको छ। प्रहरीलाई छल्नका लागि उनीहरूले भारतीय आधार कार्ड सम्म बनाएर क्यासिनोमा प्रवेश गराउने गरेका छन्।
अरू क्यासिनोहरुमा खेलाडीहरूलाई प्रवेश गराउन परिचय खुल्ने दुई वटा कार्ड माग्ने गरेको भए पनि माजोङले त्यो नियम लागु गर्दैन।
क्यासिनोभित्रै यौन धन्दा
प्राप्त जानकारीअनुसार क्यासिनो माजोङभित्रै अवैध यौन धन्दा समेत सञ्चालन हुँदै आएको छ।
क्यासिनो व्यवस्थापनले खेलाडीको मागअनुसार चिनियाँ र रसियन युवती उपलब्ध गराउँदै आइरहेका छन्। यसरी युवती उपलब्ध गराइदिए बापत एक पटकका लागि ५ हजार भारु लिने गरेका छन्।
क्यासिनो माजोङले पछिल्लो पटक भारतको उत्तराखण्डलाई केन्द्रित गरेर बजार प्रवर्द्धन गर्न थालेको छ। यसका लागि सिताराम बानियाँ र विष्णुप्रसाद पन्थीलाई बेलाबेलामा त्यहाँ पठाउने गरेको छ।

स्रोतका अनुसार उनीहरूले आफूसँगै केही नेपाली युवतीहरूलाई समेत उत्तराखण्ड लैजाने गरेका छन्। ती युवतीहरूलाई त्यहाँ रहेका खेलाडीलाई प्रभावमा पार्न प्रयोग गर्ने गर्दछन्। काठमाडौँमा मात्र होइन, सोल्टी होटेलमा रहेको क्यासिनो माजोङले नेपालगञ्जमा रहेको अर्को क्यासिनोमा पनि नेपालीलाई प्रवेश गराउने गरेको पाइएको छ।
नेपालगञ्जको क्यासिनो माजोङमा विशेषगरी सुदूरपश्चिम र लुम्बीनी प्रदेशका जुवाडे जाने गरेको बताइएको छ। भारतीय ग्राहकलाई लक्षित गरी खोलिएको क्यासिनोमा नेपाली जुवाडेहरुको भीड लाग्ने गरेको बताइएको हो।
क्यासिनो पीडितले क्यासिनो नियमन गर्ने निकाय अन्तर्गतको गृह मन्त्रालयमा कञ्चनपुरका रमेश लेखक र पर्यटन मन्त्रालयमा बाजुराका बद्री पाण्डे मन्त्री भएकाले आवश्यक कारबाही अगाडि बढाउन माग गरेका छन्।
नेपालीहरुले क्यासिनोमा दैनिक करोडौं हार्दा दर्जनौँ परिवारको विचल्ली भएर सडकमा आउने अवस्थासमेत आएको पीडित परिवारले बताएका छन्। क्यासिनोले मिटरब्याजीलाई क्यासिनोमै राखेर पैसा लगानी गर्ने अवसर दिने भएका कारण जुवाडेहरु एकैरातमा लाखौं हार्ने गरेका छन्।
शक्तिकेन्द्रका निकट रहेका तथा राम्रै राजनीतिक पहुँच बनाएका क्यासिनो माजोङका सञ्चालक विनोद श्रेष्ठले त्यताको जिम्मेवारी महाप्रवन्धक निरज प्रधानलाई दिएका छन्। भने, माजोङको नायव महाप्रवन्धकको जिम्मेवारी (पिट प्रमुख) विश्व अधिकारीले सम्हालेका छन्। यस्तै क्यासिनोको बजार व्यवस्थापन अमित अधिकारी र सुरेन्द्र राठोरले हेर्ने गरेका छन्।
क्यासिनो माजोङका सञ्चालक विनोद श्रेष्ठ
यसरी शक्तिकेन्द्रको बलमा अवैधरुपमा विदेशी युवती ल्याएर यौन धन्दा गराउदासमेत प्रहरीले सुराक पाउन सकेको छैन। सुराक पाएपनि पहुँच भएकै भएर क्यासिनो माजोङ जोगिदै आएको छ।
राजधानीमा विगतमा पनि रसियन यौन व्यवसायीहरु ल्याएर अवैध धन्दा नभएको भने होइन। तर, केही वर्ष पहिले काठमाडौं परिसरका एसएसपी हुँदा रविन्द्र धानुकले उक्त सेक्स र्याकेटको सफाई गरेका थिए। अहिले फेरि सोही प्रकारको अवैध धन्दा मौलाउदै आएको छ।
प्रहरीले अनुगमन गर्छ, सूचना छैन : डीआईजी आचार्य
तर, उता नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डीआईजी दिनेश आचार्यले भने नेपालीलाई प्रवेश दिने लगायतको विषय गैर कानुनी भएको बताए। उनले सो बारे सूचना आएमा प्रहरीले एक्सन लिने पनि जनाए। यद्यपि अहिले सो बारे प्रहरीलाई सूचना नै नपुगेको दाबी गरे।