काठमाडौं: नेपाल प्रहरीमा गरिनै लागेको रिक्त छ एआईजी पदको बढुवा प्रक्रियालाई लिएर विवाद चुलिएको छ। कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएकाहरूलाई समेत बढुवाको सूचीमा पार्ने प्रयास गरिएको भन्दै आन्तरिक रूपमा असन्तुष्टि देखिएको हो।
सूत्रहरूका अनुसार बढुवामा आर्थिक चलखेल भएको आशंका गरिएको छ। एक वरिष्ठ अधिकृतले भने, “पैसाले नै सबथोक हुने रहेछ। कामको कुनै मूल्यांकन छैन। पैसा बुझाएर, चाकडी गरेर बढुवा हुने भएपछि फिल्डमा खटिएर मर्ने किन?”
यस्तै राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवाबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका कम्तीमा दुई अधिकारीलाई एआईजीमा समावेश गर्न खोजिएको पनि आरोप लागेको छ। यसले संगठनभित्र असन्तुष्टि बढाएको छ।
एक जना भूपू आइजिपीका अनुसार प्रहरीमा बढुवा प्रक्रिया निकै विवादित हुनुको कारण राजनैतिक हस्तक्षेप र आर्थिक चलखेल नै हो। यसले संगठन नै खतरामा पर्ने उनको दाबी छ।
विधि र मर्यादामा प्रश्न
नेपाल प्रहरीको नियमावली अनुसार तालिमको अंकका आधारमा ज्येष्ठता निर्धारण गरिन्छ। तर, पछिल्लो प्रक्रियाले वरिष्ठताको मापदण्ड तोडिएको भन्दै चर्को आलोचना भएको छ।
यद्यपि हालका आईजीपी दिपक थापाले भने नेपाल प्रहरीको बढुवा प्रक्रिया पारदर्शी बनाउने प्रण गरेको दाबी गर्दै आएका छन्।
को को छन् प्रतिस्पर्धामा ?
२०८१ चैत ५ गते तत्कालीन एआइजीहरु टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनकराज भट्टराई अवकाश भएका थिए। यस्तै अर्का एआइजी दीपक थापा बढुवा भएर आइजीपी नियुक्त भएसँगै ६ पद रिक्त हुन पुगेको हो। त्यसपछि बढुवाको लागि रस्साकस्सी सुरु भएको हो।
८ एआईजीको दरबन्दी रहेकोमा यतिखेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजीपी सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख रानीपोखरीका एआईजी टेकबहादुर तामाङ मात्रै कार्यरत रहेका छन्।
स्रोतका अनुसार २०५२ कात्तिक २७ का तीन, २०५३ पुस ५ गतेका पाँच र २०५४ चैत १८ गते भर्ना भएको टोलीका ३ जना डीआईजीहरु यतिखरे एआईजीमा बढुवाको रेशमा लागेको बताइन्छ। यी तीनै ब्याचबाट ६ जना डीआईजीपी एआईजी पदमा बढुवा हुने सम्भावना रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
२०५२ कात्तिक २७ गते भर्ना भएका चन्द्र कुवेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल तीनजना अब एआईजी बढुवा हुने लाइनमा रहेका छन्। एआईजीमा बढुवा हुने सबैभन्दा बलियो सम्भावना उनीहरूकै रहेको स्रोतले दावी गरेको छ।
त्यस्तै २०५३ साल पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर २०५८ पुस २६ गते प्रहरीमा स्थानान्तरण भएको टोलीका डीआईजी सिद्धिविक्रम शाह पनि बलियो देखिएका छन्। उनी हाल प्रहरीको विशेष ब्युरोमा कार्यरत रहेका छन्। आफ्नो ब्याचबाट उनी पहिलो नम्बरमा परेका छन्।
यस्तै यो ब्याचबाट अहिले एआईजीका लागि शाहसँगै उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक र सुशील सिंह राठौर पनि रेसमा छन्। यद्यपि स्रोतका अनुसार, एक वा दुई जना मात्रै यो टोलीबाट बढुवा हुने सम्भावना देखिन्छ। जसमा शाह र चतुर्वेदीको बढुवा हुनसक्ने अनुमान गरिएको छ। उनीहरु दुवैजना राजनीतिक पकड र दबाब दिनसक्ने डीआईजीका रुपमा चिनिएका छन्।
त्यस्तै २०५४ को टोलीबाट पनि यसपटक तीन जना एआईजीमा बढुवा हुन खोजिरहेका छन्। यो टोलीबाट दानबहादुर कार्की पहिलो नम्बरमा देखिएका छन्। कार्की हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा कार्यरत रहेका छन्। अब हुने एआईजी बढुवामा उनी पनि बढुवा हुने सम्भावना रहेको छ। कार्कीसँगै बढुवा भएका एकेडेमीका डीआईजी मनोज केसी र कोशी प्रदेशका डीआईजी राजन अधिकारी पनि एआईजी बढुवाका लागि पर्यत्न गरिरहेको बताइन्छ।

र, यो पनि: आईजी नियुक्तिपछि रिक्त ६ एआईजीका लागि दौडधुप, प्रदेशहरु ट्वाइसीको भरमा