काठमाडौं: गृहमन्त्री रमेश लेखक तीनकुने–कोटेश्वर क्षेत्रको अनुगमनमा पुगेका छन्। राजावादीहरुले हिजो गरेको आगजनी, तोडफोड र लुटपाटबाट भएको क्षतिको अवस्था बुझ्न मन्त्री त्यहाँ पुगेका हुन्।
आगजनीमा परेर एक पत्रकार मारिएका छन्। अर्का एक जनाको गोली लागेर निधन भएको हो। धेरै घरमा तोडफोड र आगजनी गरिएको छ भने भाटभटेनीमा लुटपाट मच्चाइएको थियो।
प्रहरीले राति नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमसेर राणासहित अहिलेसम्म ११० जनालाई पक्राउ गरेको छ। उनीहरुलाई आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्न भएको आरोपमा प्रक्राउ गरेको हो। उनीहरुमाथि संगठित अपराध, चौरी डकैती, हत्या, आगजनीको अभियोग लगाउने प्रहरीको तयारी छ।
राजावादीहरुको आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंको खोजी जारी छ। रातिदेखि धेरै ठाउँमा खोज्दा पत्ता नलागेपछि उनी शोभा पाठकसँग सँगै हुनसक्ने आकलन गरिएको छ।
विगतमा महेश बस्नेतसँगको सम्बन्धमा खटपट भएपछि शोभाले प्रसाईंलाई दाई भन्दै आफ्नो दुःखेसो पोख्दै आएको बताइन्छ। यता पूर्वराजा ज्ञानेन्द्रले तोकिदिएका आन्दोलनका संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्दमा राखिएको छ। ८७ वर्षे सुवेदीलाई पक्रेर प्रहरी हिरासतमा राख्दा उनको ज्यानको जोखिमलाई ध्यानमा राखेर प्रहरीले घरभित्रै थुनेको हो।