धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारीलाई तीव्र बनाएको छ। प्रदेश नीति तथा योजना आयोगले समपुरक अनुदान र प्रदेश विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना वा कार्यक्रमका लागि स्थानीय तहसँग प्रस्ताव आव्हान गरेको छ।
आयोगले चैत ११ गते सूचना जारी गर्दै विद्युतीय सूचना व्यवस्थापन प्रणालीमार्फत प्रस्ताव पठाउन आग्रह गरेको हो। बैशाख १० गतेभित्र प्रस्ताव पेस गर्न भनिएको छ। आयोगका सूचना अधिकारी जयराज ओझाका अनुसार स्थानीय तहको कार्यपालिकाले प्राथमिकता दिएका आयोजना वा कार्यक्रमको प्रस्ताव मात्र स्वीकार गरिनेछ।
समपुरक अनुदानमा प्राथमिकता
प्रदेश नीति तथा योजना आयोगले कृषि, पूर्वाधार, खानेपानी तथा सरसफाई, सिंचाई, फोहोर व्यवस्थापन, शिक्षा, पर्यटन, ऊर्जा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, सडक लगायतका पूर्वाधारसँग सम्बन्धित आयोजना प्रस्ताव गर्न आग्रह गरेको छ।
गाउँपालिका र नगरपालिकाले कम्तीमा ५० लाख र उपमहानगरपालिकाले कम्तीमा एक करोड लागत भएको आयोजना प्रस्ताव गर्नुपर्नेछ। अधिकतम लागत सीमा गाउँपालिकाका लागि दुई करोड, नगरपालिकाका लागि तीन करोड र उपमहानगरपालिकाका लागि चार करोड निर्धारण गरिएको छ। आयोजना तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
विशेष अनुदानका लागि कार्यक्रमहरू
शैक्षिक सेवाको गुणस्तर अभिवृद्धि, आधारभूत स्वास्थ्य सेवा, लक्षित वर्गका लागि खानेपानी तथा सरसफाई सुविधा, जीविकोपार्जन सुधार, विपद् जोखिम न्यूनिकरण, विपन्न तथा सीमान्तकृत समुदायका लागि आवास विकास, एकीकृत बस्ती विकास तथा जोखिमयुक्त बस्ती स्थानान्तरण जस्ता कार्यक्रमका प्रस्ताव पनि माग गरिएको छ।
विशेष अनुदानका लागि गाउँपालिकाले २५ देखि ५० लाख, नगरपालिकाले २५ देखि ७० लाख र उपमहानगरपालिकाले एक करोड रुपैयाँसम्मको योजना प्रस्ताव गर्न सक्नेछन्।
अर्थ मन्त्रालयको तयारी
यसैबीच, प्रदेशको आर्थिक मामिला मन्त्रालयले पनि आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि तयारी सुरु गरेको छ। मन्त्रालयले चैत १० गते सूचना जारी गर्दै निजी क्षेत्र, सरकारी निकाय र सरोकारवालाहरूलाई करसम्बन्धी सुझाव पठाउन अनुरोध गरेको छ।
मन्त्रालयले प्रदेशको कर दर निर्धारण, करको दायरा विस्तार तथा कर प्रशासन सुदृढीकरणका विषयमा चैत ३१ गतेभित्र सुझाव पेस गर्न आग्रह गरेको छ।
प्रदेश सरकारले समयमै बजेट निर्माणको तयारी सुरु गरेसँगै स्थानीय तहहरूले पनि प्राथमिकता दिएका आयोजना तथा कार्यक्रमको प्रस्ताव तयार पार्न थालेका छन्।