काठमाडौं: अस्ति काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनका आन्दोलनकारीलाई प्रहरीले धमाधम समातिरहेको छ। २ जनाको ज्यानै गएको गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक घटनामा प्रहरीले हालसम्म डेढ सय जनालाई पक्राउ गरेको छ। कार्यक्रमको कमान्डर तोकिएका दुर्गा प्रसाईंलाई प्रहरीले भगौडाको सूचीमा राख्दा राजसंस्था पुर्नस्थापनका लागि संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी घरमै प्रहरी घेरामा छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणसहित ४१ जनाविरुद्ध मुद्दा दर्ता गर्न प्रहरीले प्रतिवेदन तयार पार्दैछ। आज फेरि प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। तर, उक्त दिन भीडलाई उक्साउन मुख्य भूमिका खेलेका नाइके एवम् जनकमाण्डर भनिएका प्रसाई अझै बेपत्ता छन्। प्रहरी स्रोत भन्छ, ‘उनी भारत पुगेकी भन्ने लागेको छ।’
त्यसो त, प्रसाईंले अस्ति सचिवालयमार्फत् आफू कतै नभाग्ने र काठमाडौँकै एक मन्दिरमा लुकेर बसिरहेको भिडियो सार्वजनिक गरेका थिए। हिजो जारी अर्को सन्देशमा नेपालमै लुक्ने ठाउँ भेटेको र भावी रणनीति तयार गरिरहेको बताए। ‘शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ,अनि पुनःआक्रमण गर्छ, दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमिहरुको मलामी लिएर आउदैछु’, उनले भनेका छन्, ‘मैले नेपालमै लुक्ने ठाउँ भेटेको छु, भावी रणनीति तयार पार्दैछु, तिमिहरुले त्यो पनि पाउदैनौँ, याद राख।’
प्रसाईंले आफू नेपालमै रहेको दावी गरिरहँदा सुरक्षा निकाय भने भारत पुगेको शंका गर्न थालेको छ। प्रसाईंले फेसबुकमार्फत् नेपालमै रहेको दावीसहित धम्कीपूर्ण सन्देश दिइरहँदा प्रहरीले उनको सचिवालयलाई पनि निगरानीमा राखेको छ।