अछाम – नेकपा एमालेको अछाम जिल्ला कमिटीको अधिवेशन नजिकिदै गर्दा पार्टी छोड्ने लहर चलेको छ। सुदूरपश्चिम प्रदेश कमिटीका लेखा समिति सदस्य बालागिरी कुँवरसहित ७१ जना सदस्यले आइतबार एमाले परित्याग गरेका छन्। उनीहरुले डा. भीमबहादुर रावलद्वारा सञ्चालित ‘मातृभूमि जागरण अभियान’मा सहभागी हुने निर्णय गरेका छन्।
पार्टी परित्याग गर्ने सदस्यहरुले जारी गरेको विज्ञप्तिमा, एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको गुटीय राजनीति, कार्यशैली, आन्तरिक लोकतन्त्रको समाप्ति, जनवादको अन्त्य र निरंकुशता बढेको भन्दै पार्टीबाट बाहिरिने कारण बताएका छन्। उनीहरुले आरोप लगाएका छन् कि पार्टीमा भ्रष्टाचार, ठूला व्यवसायी र सरकारी ठेक्कापट्टासँगको जडान, आर्थिक घोटाला र सर्वहारा वर्गको पक्षमा आवाज उठाउने कार्यको कमी बढेको छ।
विज्ञप्तिमा, देशका इमानदार र देशभक्त नेता तथा कार्यकर्ताहरुलाई डा. रावलको अभियानमा सामेल हुन, भ्रष्टाचार अन्त्य गर्न, राष्ट्रियता र सुशासनको रक्षा गर्न आव्हान गरिएको छ।
एमाले छोडेर मातृभूमि अभियानमा सामेल हुनेमा अछाम जिल्लाका कमिटी सदस्य, नगर कमिटी सदस्य, वडा र गाउँ कमिटीका पूर्व पदाधिकारी र सदस्यहरू छन्। यसैगरी, नेकपा एकीकृत समाजवादीका पाँच जना नेता र कार्यकर्ताले पनि पार्टी छोडेर डा. रावलको अभियानमा सहभागी भएका छन्।
यसै क्रममा, एमालेले अछाम जिल्लाको कमिटी अधिवेशनका लागि शनिबार भूगोल, क्षेत्र र कलस्टरबाट प्रतिनिधि चयन गरेको थियो। नवौं जिल्ला अधिवेशन बैशाख १३ देखि १५ गतेसम्म मंगलसेनमा हुने जनाइएको छ।