दार्चुला,— भारतद्वारा दार्चुला सदरमुकाम खलङ्गाको नेपाली भूमिमा तटबन्ध निर्माण गरिनु फेरि एकपटक सीमा सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाउँदैछ । महाकाली नदीको धार परिवर्तनपछि भारतले कब्जा जमाउँदै नेपालकै भूमिमा निर्माण कार्य तीव्र पारेको स्थानीयको आरोप छ ।
२०७० सालको बाढीपछि महाकाली नदीले पुरानो धार परिवर्तन गरेर नेपाली भूमि पारी पुर्याएपछि त्यही भूभागमा भारतले योजनाबद्ध रूपमा बाँध बनाउँदै आएको पाइएको छ । विगतमा बसपार्क र सरकारी कार्यालय रहेको गल्फै क्षेत्र अहिले भारतले अतिक्रमण गरिरहेको भूभाग हो, जहाँ हाल पाँच वटा डोजर प्रयोग गरी तटबन्ध निर्माण भइरहेको छ ।
“नदीको बहाव परिवर्तनले भूगोल फेरिएको हो, सिमा होइन,” अधिकारकर्मी कमलराज जोशी भन्छन्, “तर भारतले अहिले त्यसलाई आधार बनाएर भूमि हडप्ने प्रयास गर्दैछ ।” स्थानीयवासीका अनुसार, करीब ५० रोपनी नेपाली भूमि अहिले भारतको नियन्त्रणमा पुगेको छ, र त्यसमा बाँध निर्माणका लागि कुनै सहमति या सूचना बिना भारतीय डोजर सक्रिय छन् ।
अझ हैरानीको कुरा त के छ भने, नेपालका नापी अधिकारीहरूले उक्त भूभाग नेपालको भएको प्रतिवेदन दिइसक्दा पनि रिपोर्ट अझै सार्वजनिक गरिएको छैन । यसले जनताको विश्वासमाथि प्रश्न खडा गरेको छ । स्थानीय सुन्दरसिंह धामी भन्छन्, “यदि सरकारसँग प्रमाण छन् भने किन ढिलो गरिन्छ ? तत्काल अभिलेख सार्वजनिक गरिनुपर्छ ।”
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, भारतसँग लिखित र मौखिक रूपमा काम रोक्न आग्रह गरिए पनि सुनुवाइ भएको छैन। “सरकारले अब ढिला नगरी कूटनीतिक कदम चाल्नुपर्छ,” उनले भने ।
भारतले विगतदेखि नै नेपालतर्फको तटबन्ध रोक्दै आफ्ना संरचना अगाडि बढाउने रणनीति अपनाएको देखिन्छ । अहिले स्थिति झनै जटिल बन्दै गएको छ, जसमा दुई देशबीच स्पष्ट संवाद र सीमा निर्धारणको खाँचो थप तीव्र भएको छ ।