काठमाडौं – भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।
भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी रोक लगाउने निर्णय गरेको हो ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
वाणिज्य विज्ञ रविशंकर सैजुका अनुसार भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल-भारत लगायतका मुलुकमा चिनीमा परनिर्भर रहेको उनले बताए ।
नेपाल चिनी उद्योग संघले दिएका जानकारीअनुसार यो चालु आवमा नेपालमा ३ लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन् । चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिकटन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।