कैलाली– कैलालीको अत्तरियामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । सुदुरपश्चिम प्रदेशको राजधानी समेत रहेको अत्तरियास्थित महेन्द्रनगर रोडमा नयाँ अस्पताल सञ्चालनमा आएको हो ।
सोमबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै १५ करोडको लगानीमा अत्तरिया हस्पिटल प्रालि संचालनमा ल्याइएको अस्पतालका प्रमुख डा आन्नद पाठकले जानकारी दिए । अस्पतालले अहिले १५ बेडको स्वीकृती लिएकोमा एक सय बेडसम्मको भौतिक संरचना निर्माण गरिएको उनले बताए ।
प्रदेशवासीलाई गुणस्तरीय सेवा दिने अस्पतालले दाबी गरेको छ । अस्पतालले ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, आईसियु, एनआईसियुको सेवा दिने जनाएको छ ।
यस्तै आकस्मिक उपचार, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स, हर्निया हाइड्रोसिल लगायतको सम्पूर्ण शल्यक्रिया लगायतका सेवा अस्पतालमा रहेको जनाइएको छ ।