काठमाडौं– १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्विनअटर विमान आइतबार बिहान ९ः ५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा–जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो।
सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्रहरीले बताएको छ। चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ।
दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए।
जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा रहेको घिमिरेले बताएका थिए। जोमसोम विमानस्थल ९ हजार फिट उचाइमा छ। तर, हावाको विवरण दिएलगत्तै सम्पर्कविहीन भएको विमान झन् बढी उचाइमा पुगेर चट्टानमा बजारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको भनाइ छ।
प्राधिकरणका एकजना पदाधिकारी भन्छन्, ‘जोमसोम विमानस्थलसँग सम्पर्क टुटेलगत्तै विमान बायाँ मोडिएर पहाडमा ठोक्किन पुगेको देखिन्छ। सम्पर्कविच्छेद हुनासाथ विमानले बाटो बिराएको अनुमान छ।’ ती पदाधिकारीका अनुसार ताराको यो विमानभन्दा तीन मिनेटअगाडि यही रुटमा समिट एयरको विमान थियो। समिटको विमान पोखराबाट ९ बजेर ५२ मिनेटमा उडेको थियो, ताराको ९ बजेर ५५ मिनेटमा उडेको थियो
‘तीन मिनेटअगाडिको विमान सकुशल जोमसोम पुग्यो तर पछिपछि गएको ताराको विमानले सम्पर्क गुमाएपछि बाटो बदल्यो,’ ती पदाधिकारीले भने, ‘तीन मिनेटको अन्तरमा मौसममा बदली आएको पनि हुनसक्छ वा हावाको झड्कामा पनि परेको हुनसक्छ।’ तीन मिनेटको अन्तरमा दुईवटा विमानमध्ये पछाडिको विमानलाई मात्र अप्ठ्यारो आएको उनले बताए। ‘सम्पर्क टुटेपछि विमानले सन्तुलन गुमाएर उचाइ बढाएको हुनसक्ने अनुमान छ। तर, त्यो सबै अध्ययन टिमले बताउनेछ,’ उनले भने।
यो विमानले पोखरा–जोमसोम रुटको अप्ठ्यारो खण्ड भने पार गरिसकेको थियो। अप्ठ्यारो खण्ड पार गरेर जोमसोमसँग एकपटक सम्पर्कमा आएपछि विमानको सम्पर्क टुटेको थियो।
नागरिक दैनिकमा खबर छ ।