एजेन्सी – युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए ।
‘दि इन्डिपेन्डेन्ट’को रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’ समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे । रसिया–वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभ मा उनले रुसी हमला स्टोनहेन्जभन्दा टाढासम्म पुग्नुपर्ने बताए ।
युक्रेनी राजनीतिक विश्लेषक भासिल भाकारोभकले रुस आक्रमणका लागि कति टाढा जान इच्छुक छ भनि सोधेको प्रश्नमा सोलोभियोभले भने, ‘ठीक छ, जब हामी चाहन्छौँ तब जान्छौँं ।’
‘हामी कहाँ रोकिने ? ठिक छ, मैले आज भनेको थिएँ । हुनसक्छ स्टोनहेन्ज । लिज ट्रस भन्छिन् कि उनी युद्ध लड्ने व्यक्ति हुन्’, सोलोभियोभलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले अगाडि लेखेको छ ।
पुटिनले युक्रेनको राजधानी किभमा हमला गर्नुपर्ने पनि सोलोभियोभले बताए । बेलायतका विदेशमन्त्री लिज ट्रसले पुटिनसँग सम्झौता गर्न नचाहेको भन्दै रुसी सञ्चारमाध्यमले उनको आलोचना गर्दै आएका छन् ।
गत महिना जर्मनीमा आयोजित बैठकमा विदेशमन्त्री ट्रसले जी–७ र नेटो नेताहरूलाई पुटिनले ‘विश्व मञ्चमा आफूलाई अपमानित गरिरहेको’ आरोप लगाएकी थिइन् ।